कतारी अमिर अल थानीसमक्ष नेपाली राजदूत डाक्टर भारद्वाजद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

 कात्तिक ११, २०७६ सोमबार १४:५९:० | रासस
unn.prixa.net

काठमाण्डौ – कतारका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजले कतार अधिराज्यका अमिर शेख तमिम बिन हमिद अल थानीसमक्ष आइतबार अपराह्न दोहास्थित अमिरी दिवानमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यसपछि भएको शिष्टाचार भेटमा राजदूत भारद्वाजले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट अमिरको सुख, सुस्वास्थ्यको कामनाका साथै कतारका नागरिकको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

गत वर्ष राष्ट्रपति भण्डारीबाट भएको कतार भ्रमणको स्मरण गर्दै राष्ट्रपति भण्डारीले कतारी अमिरलाई नेपालमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको नेपाली राजदूतले अवगत गराउनुभयो ।

दोहास्थित नेपाली दूतावासका अनुसार भारद्वाजले नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा पारस्परिक लाभका निम्ति द्विपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कतारी अमिरले राजदूत भारद्वाजको कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई प्रगाढ बनाउने नेपाली राजदूतको प्रयासमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

उहाँले राष्ट्रपति भण्डारीको गत वर्षको कतार भ्रमण र गत साता टोकियोमा भएको भेटवार्ताको सन्दर्भ प्रस्तुत गर्दै कतार–नेपाल सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले कतारको विकासमा नेपालीबाट भएको योगदानको सराहना पनि गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया