महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिन्छ : मन्त्री भट्टराई

 कात्तिक १३, २०७६ बुधबार १६:२७:३८ | रासस
unn.prixa.net

धनुषा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सुदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाद्वारा बुधबार  जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताउनुभयो ।

पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री भट्टराईले सरकारले प्रदेश नं. २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताउनुभयो ।

पर्यटकीय प्रवर्द्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृहकार्य भइरहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले सरकारले जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य गरिरहेको छ भन्नुभयो ।

मन्त्री भट्टराईले सरकारले सातै प्रदेशमा एउटा प्रमुख पर्यटकीय  गन्तव्य स्थलको निर्माण गर्ने अवधारणा राखेको छ भन्दै प्रदेश नं. २ मा धार्मिक र सांस्कृतिक स्थललाई जोडने सर्किट निर्माणको आवश्यकतामा जोड दिनुभयो । प्रदेश नं. २ मा धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि र औद्यागिक पर्यटनको विकास संभावना प्रबल रहेको चर्चा गर्दै उहाँले यसका पर्यटकीय विविधतामूलक योजना कार्यान्वयन गर्नु जरूरी छ भन्नुभयो ।

उहाँले जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपलाई अन्तर्राष्ट्रियस्तरको वैवाहिक स्थलका रूपमा प्रवर्द्धनको खाँचाे औल्याउनुभयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० समापन वर्ष नमानी आधार वर्षका रूपमा लिई एक दशकसम्म पर्यटन पूर्वाधार विकासका कार्यतर्फ उन्मुख हुन जरूरी छ भन्नुभयो ।

प्रदेश नं. २ का  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले आफ्नो मन्त्रालयमा पर्यटनका कुनै पनि कर्मचारी नभएका कारण पर्यटनसम्बन्धी विधेयक निर्माणमा जटिलता थपिँदै गएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

शाखा अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको त्यस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झाले प्रदेश नं. २ मा व्यावसायिक पर्यटनको संस्कारको विकास हुने अभियान सञ्चालनको आवश्यकताामा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया