एउटै कलम एक लाख रूपैयाँमा बिक्री !

 कात्तिक १३, २०७६ बुधबार १९:३९:४६ | रासस
unn.prixa.net

सप्तरी – प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख एक सय पाँच रुपैयाँमा बिक्री भएको छ ।

चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट  एक लाख एक सय पाँच रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका–८ की रेखादेवी कर्णलाई कलम हस्तान्तरण गरिएको हो । ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहिआएकामा यो वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेको चित्रगुप्त सेवा समितिका अध्यक्ष सतीशकुमार दत्तले जानकारी दिनुभयो ।

यमद्वितीयाको नामले प्रसिद्ध कात्तिक शुक्लपक्ष द्वितीया तिथि भाइटीकाका दिन हरेक वर्ष चित्रगुप्तको पूजा गरिन्छ । पाप र पुण्यको लेखाजोखा गर्ने चित्रगुप्त महाराजको प्रतिरूप मानेर कलम र मसीको पूजा गरिने यो दिनलाई व्यापारीले नयाँ वर्षको प्रारम्भ मान्छन् ।

पौराणिक मान्यताअनुसार, सृष्टीकर्ता ब्रह्माले उत्पन्न गरेका चित्रगुप्त महाराजलाई पाप र पुण्यको लेखाजोखा गर्न यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ । चित्रगुप्तको विवाह सूर्य पुत्री यमीसँग भएको थियो । यमराज र यमी सूर्यको जुम्ल्याहा सन्तान हुन् । पछि यमी यमुना बनेको र पृथ्वीमा गएको जनविश्वास रहेको छ ।

यसैगरी कार्यक्रममा कक्षा ९ देखि १२ मा अध्ययनरत आठ जना र स्नातक तहमा अध्ययनरत चार जनालाई छात्रवृति वितरण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया