ठेकेदार यस्ता पनि : अठार महिनाको काम आठ महिनामै

 कात्तिक १७, २०७६ आइतबार ७:१२:३० | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीको बेनीमा अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको सभाहल निर्माणको काम आठ महिनामै सकिएको छ ।

ढिलासुस्तीका कारण पूर्वाधारसँग सम्बन्धित अधिकांश विकास आयोजना समयमै सम्पन्न नहुने र अलपत्र परिरहेका बेला जिल्ला समन्वय समितिको सभाहल भने निर्धारित समय अघि नै बनेको हो । 

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय बागलुङले ठेक्कामार्फत भवन बनाएको हो । २०७५ चैत १३ गते सम्झौता गरेको थानी–जयलक्ष्मी जेभीले सभाहलको भवन निर्माण गरिसकेको कार्यालयका इञ्जिनियर तेजिन्द्र पौडेलले जानकारी दिनुभयो । 

अठार महिनाको सम्झौता भए पनि ठेकेदारले आठ महिनामै काम सकेपछि जिल्ला समन्वय समितिलाई हस्तान्तरणको तयारीमा छौँ, पौडेलले भन्नुभयो व्यवसायीको इच्छाशक्ति, कार्यक्षेत्रमा काम गर्ने सहज वातावरण, सम्वद्ध कार्यालयबाट निगरानी र सहजीकरण भयो भने ढिलासुस्ती हटाउन सकिने यो भवन बनाउँदा अनुभव भयो ।

अनुमानभन्दा २५ प्रतिशत घटेर ठेक्का लिएको ठेकेदार कम्पनीले भ्याटबाहेक एक करोड ६७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पर्याप्त मात्रामा मजदूर, उपकरण परिचालन, समयमै निर्माण सामग्रीको व्यवस्थापन तथा सम्वद्ध कार्यालयको सहयोगबाट लक्ष्यअघि नै भवन बनाउन सफल भएको निर्माण व्यवसायी जयन्द्र श्रेष्ठले बताउनुभयो । 

दुई तले भवनको भुइँ तलामा आठ वटा कोठा र माथिल्लो तलामा ७०० जना क्षमताको सभाहल छ । यो जिल्लाकै ठूलो र सुविधा सम्पन्न सभाहल हो । भवन हस्तान्तरण भएपछि भुई तलामा जिल्ला समन्वय समितिको कार्यालय सञ्चालनमा प्रयोग गरिने जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

सभा, समारोह, अधिवेशन, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ, जिसस प्रमुख केसीले भन्नुभयो, सभाहलको अभावमा ठूला कार्यक्रम सडक र चोकमा आयोजना गर्नुपर्ने बाध्यता हटेको छ । 

तत्कालीन जिल्ला विकास समितिले द्वन्द्वाेत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गत २०७३ असारदेखि निर्माण सुरु गरेको सभाहल शान्ति तथा पुनःनिर्माण मन्त्रालयको खारेजीसँगै बजेट व्यवस्थापन नहुँदा अलपत्र बनेको थियो । 

एक करोड ४२ लाख रुपैयाँको लागतमा दुई तले भवनको जग हाल्ले, पिल्लर ठडाउने र ढलान गर्ने काम भएको थियो । प्रदेश सरकारबाट थप बजेट व्यवस्थापन गरेर कोठा विभाजन, प्लास्टर, फर्निचर, रङरोगन, विद्युत्, पानी जडान, शौचालय बनाई भवनलाई पूर्णता दिइएको हो ।

जिल्लाका सरोकारवालाको मागको आधारमा भौतिक पूर्वाधार मन्त्रालयले महत्वका साथ तत्कालै बजेटको व्यवस्था गरेर सभाहललाई पूर्णता दिन सफल भएको प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया