प्रचण्ड र ओलीले पनि नेकपाको महाधिवेशनमा भाग लिन चुनिएर आउनुपर्ने

 साउन १, २०७५ मंगलबार १४:५८:५० | रासस
unn.prixa.net


काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन-अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । 

एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन) को प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन÷अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई आज बसेको सचिवालयको छैटौँ बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक हुनेछ भन्दै सबै महाधिवेशन-अधिवेशनमा निर्वाचित प्रतिनिधिले मात्र भाग लिन पाउने व्यवस्था गरिएको बताउनुभयो । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भएमा ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउने छैनन् । 

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले पारित विधान र नियमावलीलाई प्रकाशन गर्ने र आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना (आउँदो भदौ ३) भित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिनुभयो । 

एकतापछि प्रधानमन्त्री ओलीको छिमेकी चीन भ्रमण र अध्यक्ष दाहालको श्रीमतीको उपचारका लागि सिंगापुर भ्रमण तथा अन्य कार्यव्यस्तताले विधान र नियमावली पारितमा ढिलाइ हुँदा मातहतका कमिटीको एकताले गति लिन सकेको छैन । ‘तलको एकतामा अब ढिलाइ हुँदैन, शीर्ष नेताहरुको कार्यव्यस्तताले नभ्याइएको हो, हामी तीन महिनाभित्र सक्ने तयारीमै छौँ ।’ 

विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउनेछन् र पार्टीले कहाँ कहिले एकता गर्ने भन्ने कार्ययोजना तय गर्नेछ । 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्ययोजनाबारे आज छलफल सुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराउनुभएको थियो । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया