नेपाल एअरलाइन्सले मंसिरदेखि ग्वाेञ्जाओ उडान गर्ने

 कात्तिक १८, २०७६ सोमबार १२:१७:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले मंसिर महिनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ ।

लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार भर्खरै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारी अनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।

‘निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महिनादेखि उडान सुरु हुनेछ’, मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको शर्त थियो । 

त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भइ आवश्यक कागजात आदानप्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो । 

त्यहीअनुसार निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र त्यसैकाे आधारमा ग्वोञ्जाओ उडानका लागि  ‘स्लट’ पाउने बताइएको छ ।   

यसैबीच निगमले चीनको राजधानी बेइजिङ र सङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । 

निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सङ्घाई उडानका लागि पहल भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । त्यसपछि निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एअरलाइन्सले यही कात्तिक १० गनेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान सुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।    
    
पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने

निगमले आउँदो जनवरी महिना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । नारिता उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।

निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, त्यसपछि उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य देशबाट पनि पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । 

यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०-२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

गएको भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया