६५ किमीको भाडा २५ सय रुपैयाँ

 कात्तिक २०, २०७६ बुधबार १०:१२:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाजुरा – जीप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५०० रुपैयाँसम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जीप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ ।

यो बाटोमा एक यात्रुबाट २ हजार ५०० रुपैयाँसम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले बताउनुभयो । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् ।

मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा एक हजार २०० रुपैयाँ भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उहाँको भनाइ छ ।

मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत एक हजार रुपैयाँदेखि एक हजार ५०० भाडा तिर्नुपरेको गुनासो यात्रुको छ । टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन् । कसैलाई भने राम्रो नहुने चेतावनी जीप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ । प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ । 

कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ । तत्काल यात्रुको सहजताका लागि भन्दै केही जीप सञ्चालन अनुमति दिइएको छ । त्यही मौका पारेर जीप व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका छन् । जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने जीपले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन् । सडक समस्या देखाएर यात्रुलाई व्यवसायीले खुलआम ठगी गरेर भाडा असुली गर्ने गरेका छन् । 

सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिमी ११ रुपैयाँ लिने निर्णयसमेत गरेको थियो । सो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको  ७१५ रुपैयाँ हुन्छ, तर यहाँ निर्णयको भन्दा तेब्बर रकम असुली जीप व्यवसायीले गर्ने गरेका छन् ।

नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताउनुभयो । कर्णाली करिडोरमा बाजुरा र कालिकोटका जीप व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन् । चर्को भाडा असुलीसँगै क्षमताभन्दा बढी जीपको छतमा समेत गरी २० भन्दा बढी यात्रु बोक्ने गरिएको छ । 

कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ । सेनाले यो सडकको जिम्मा विसं २०७१ चैतबाट सुरु गरेको थियो । अहिलेसम्म १०७ किमीमा काम भइरहेको मध्ये ७२ किमीमा यातायात सञ्चालनमा आएको उपसेनानी शङ्कर सिलवालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया