न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
पर्वत – मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङ यही हप्ता खोलिएको हो ।
सुरुङको हेर्डबक्सदेखि एक हजार पाँच सय ५० र पावरहाउसदेखि एक हजार एक सय मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम सुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो ।
आयोजना सुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो । ‘सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौँ’, आचार्यले भन्नुभयो ।
निर्माण कार्य सुरु भएपछि विक्रम संवत २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले अहिलेसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ । आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादन गृहको कामसमेत सोमबारबाट सुरु भएको भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिनुभयो ।
मोदी खोलाको आडैमा निर्माण हुने उत्पादन गृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । पटक-पटक पावरहाउसको काम सुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन ।
‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम सुरु गरेका छौँ’, आचार्यले भन्नुभयो, ‘अब धमाधम काम हुन्छ’, आचार्यले भन्नुभयो । सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम सुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररूपमा काम भैरहेको उहाँले जानकारी दिनुभयो ।
मोदी गाउँपालिका १ मा पर्ने भुकताङले र वडा नम्बर २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी गाउँपालिका १ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी गाउँपालिका २ देउपुरको बेतेनीसम्म दुई हजार ६ सय ९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदी खोलामा मिसाउने योजना छ ।
झण्डै दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजनाले गएको मंसिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो । विक्रम संवत २०७१ देखि सुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ ।
सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले समयभित्र उत्पादन थाल्नेगरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।