बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

 कात्तिक २१, २०७६ बिहीबार ११:१३:५३ | रासस

सुर्खेत – प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभयो । ‘विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो’, उहाँले भन्नुभयो, ‘अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन । 

कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने/गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्ष २०७६/७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा सात/सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।
 
प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिनुभयो । प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी हुनुहुन्थ्यो । सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेदलगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानूनी व्यवस्थाको पालना गर्न/गराउन हामी सधैँ प्रतिबद्ध छौँ भन्नुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया