‘दुःखीलाई आएन काल : बाचुञ्जेली सधैँको यही चाल’

 कात्तिक २१, २०७६ बिहिबार १३:३०:२७ | रासस
unn.prixa.net

गुल्मी – ‘दुःखीलाई आएन काल : बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो । 

शरीरमा पहिलेझैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेसाप्रति भने उहाँको रुचि घटेको छैन । आफ्ना बाउबाजेले गाउँगाउँमा गइ गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उहाँ कायम राख्न चाहानुहुन्छ । तर, उहाँलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिनसकेका छैनन् । 

पहिले-पहिले अहिले झैँ सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपर्थ्यो । जसले गर्दा गन्धर्व जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नुन, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन गर्थे ।  

चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ पुग्नुभयो । ६२ वर्षसम्म उहाँले देशमा शासन–व्यवस्था परिवर्तन भएको देख्नुभयो । थुप्रैले चुनावमा भोट मागेको र आशा देखाएको उहाँसँग अझै सम्झना छ । बिडम्बना, उहाँले अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महसुस गर्न पाउनुभएको छैन । 

उहाँको गायन पेसा फस्टाउनुको साटो झन् खुम्चदै गएको छ । आफूहरुको गायन पेसालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गैरहेको चुराबहादुरको गुनासो छ । ‘गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन’, उहाँले भन्नुभयो, ‘राज्यले हेरेन, छोराले सिकेनन् ।’

उहाँको छिमेकी पेमबहादुर गन्धर्व उमेरले ५० वर्ष पुग्नुभयो । नियमित गन्धर्व जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । जम्मा १२ छोराछोरीमध्ये अहिले ११ जना जीवित छन् । 

उहाँ गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुग्नुभयो । त्यसैबाट परिवारको गुजारा गर्नुभएको उहाँको अहिले भने त्यत्ति गाउने जागर छैन । कारण हो, पेसा सम्मानजनक नहुनु । 

‘गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन’, प्रेमबहादुरले भन्नुभयो, ‘बाध्य भएर गायन पेसाप्रति कम समय दिनुपरको छ ।’ पहिले–पहिले गीत गाइसकेपछि अन्न, नुनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उहाँले बताउनुभयो । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जान्नुभएको छ । 

आफै सारङ्गी बनाउने र बजाउने हुँदा केहीरुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ‘कुनै–कुनैले राम्रो व्यवहार गरे पनि धेरैले खासै राम्रो मान्दैनन्’, उहाँले भन्नुभयो, ‘गाउन जाँदा बचन सुन्नुपर्छ ।’

नयाँ पुस्ताले सिकेनन्

चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोरा घर–गाउँमै मजदुरी गर्नुहुन्छ । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा हुनुहुन्छ । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुईमध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीका लागि विदेश जाने तयारीमा छन् । 

बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउनुहुन्छ । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेसा लोप हुँदै गएको छ । 

‘अहिलेसम्म जसोतसो पेसा थामिएको छ, तर अब धेरै नरहने भयो’, चुराबहादुरले भन्नुभयो, ‘छोराहरुले सिक्नै खोज्दैनन् ।’ आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरे पनि उनीहरुले नमानेको उहाँको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा आफूहरुको पेसा संकटमा परेको बताउनुभयो ।

आफू रहुञ्जेल सारङ्गी बजाए पनि आफूपछि यो पेसा नै लोप हुनेप्रति प्रेमबहादुरले चिन्ता व्यक्त गर्नुभयो । ‘सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्’, उहाँले भन्नुभयो, ‘रेडियो, टेलिभिनसँगै गायन पेसा पनि लोप हुँदै गएको छ ।’

प्रेमबहादुरका माइला छोरा शरण गन्धर्वले गायन पेसाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिनुभयो । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेसालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरुले पनि गाउन नसकेको उहाँले बताउनुभयो । रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताउनुभयो । 

‘यही पेसाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ’, उहाँले भन्नुभयो, ‘तर आम्दानी हुँदैन ।’ यदी राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक २३, २०७६

तपाईको प्रतिक्रिया