आलम प्रकरणमा फेरिन थाल्यो प्रत्यक्षदर्शीको बयान, ‘बम होइन स्टोभ पड्केर घाइते भएँ’

 कात्तिक २६, २०७६ मंगलबार ७:५१:४९ | रासस
unn.prixa.net

रौतहट – राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुग्नुभएको थियो । 

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उहाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुनुहुन्छ । उहाँले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गर्नुभएको छ । 

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उहाँकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुग्नुभएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उहाँले अचानक बयान फेर्दै लिखित निवेदन दिनुभएको थियो ।

आलम सर्मथकद्वारा मौन जुलुस

यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो सङ्ख्यामा सोमबार दोस्रो पटक मौन जुलुस निकालेका हुन् । आलमको रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी काङ्ग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताउनुभयो ।

बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुङ्गिएको गिरीले जानकारी दिनुभयो । यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो ।

काङ्ग्रेसका केन्द्रीय तहका नेताले कानूनलाई सहयोग गर्न भनेपछि यहाँका नेता तथा कार्यकर्ताले दुई पटक गौरमा मौन जुलुस प्रदर्शन गरेका हुन् । गएको २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गएको असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया