नेपाल-बंगलादेश सम्बन्ध थप विस्तार हुने दुवै देशका राष्ट्रपतिकाे विश्वास

 कात्तिक २७, २०७६ बुधबार १९:५२:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे पनि छलफल भएको थियो । 

पहिलेदेखि नै नेपाल र बंगलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकाेमा उहाँलाई धन्यवाद दिनुभयो ।  दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो । 

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकाेमा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गर्नुभयो ।

बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र  परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बंगलादेशका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।  

यसअघि राष्ट्रपति हमिदकाे उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो । त्यस्तै बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको शिष्टाचार भेटवार्ता भएको थियो ।

उहाँहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया