न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आउँदो मङ्गलबार काठमाण्डौमा द्विपक्षीय छलफल हुने भएको छ । छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका उच्च अधिकारीको नेतृत्वमा वार्ताटोली काठमाण्डौ आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताउनुभयो ।
लामो समयदेखि रेलमार्गको विषयमा विभिन्न चरणमा दुई देशबीच औपचारिक/अनौपचारिक छलफल हुँदै आएको भए पनि यो परियोजनालाई व्यवहारमा अनुवाद गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपाल पक्षधर राष्ट्र भइसकेको छ ।
चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाण्डौ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गएको मङ्सिर २४ गते नेपाल सरकारसमक्ष प्रस्तुत गरिसकेको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच पटकपटक छलफल भएको छ । आपसी छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुग्ने सिलसिलमा मङ्गलबार छलफल हुन लागेको हो । चिनियाँ टोलीले काठमाण्डौ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ ।
केरुङ–काठमाण्डौ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुनेछ । यो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करिब तीन खर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाण्डौ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा यो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।
आउँदो बैठकमा चिनियाँ पक्षले नेपालका अधिकारीलाई प्राविधिक विषयमा पनि सुझाव दिने अपेक्षा गरिएको छ । यसअघि पहिलो र तेस्रो छलफल नेपालमा र दोस्रो र चौथो छलफल चीनमा भएका थिए ।
यो छलफलले डीपीआरका विषयमा अन्तिम टुङ्गो लगाउने अपेक्षा गरिएको छ । सचिव कार्कीले सरकारले रेल क्षेत्रमा महत्वकाङ्क्षी योजना अघि सारेकाले चुनौतीका साथ अघि बढेको बताउनुभयो । ‘प्रस्तुत योजना सोचेजस्तो सरल छैनन्, कार्यान्वयनका निम्ति बढी नै जोडबल गर्नुपर्ने अवस्था छ’, सचिव कार्कीले भन्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त मन्त्री वसन्तकुमार नेम्वाङले रेलमार्गका आवश्यक प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै भन्नुभयो, ‘देशमा राष्ट्रिय महत्वका योजना धेरै छन्, यी सबै काम द्रूत गतिमा लैजानु जरुरी छ, त्यसमा म लाग्छु ।’
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार वृद्धिमा त्यसले योगदान पुग्नेमा नेपाली पक्ष विश्वस्त छ ।
बीआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी गर्न प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विज्ञहरु बताउँछन् ।
‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषय रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।