न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काभ्रेपलाञ्चाेक - प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ ।
काठमाण्डौ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शुक्रबार धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे ।
प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउनुभयाे, 'हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ ।' नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उहाँले स्पष्ट गर्नुभयो । 'हामी केही कारणले आर्थिक रुपमा पछाडि पर्यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो', उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा शुक्रबार दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गर्नुभयो । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभल’ को रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ ।' उहाँले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गर्नुभयो ।
त्यस अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालयका अध्यक्ष डाक्टर के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो ।'
केयूका उपकुलपति प्रा.डा. रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ ।'
कार्यक्रममा एमबीबीएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।
केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् । दीक्षित हुनेमा एमसीएच, डीएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बीडीएसका २१८, बीएस्सी इन नर्सिङका ११६ र बीपीटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत शुक्रबार दीक्षित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।