सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि आशंका मात्रै व्यक्त गर्नु भएकाे हाे : प्रवक्ता शर्मा

 मंसिर ९, २०७६ सोमबार १७:१:३० | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि का‌ंग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उहाँको भनाइ थियो ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उहाँले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उहाँले बताउनुभयो । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सहमतिमै नक्सा निकालेकाे गम्भीर आराेप लगाउनु भएकाे थियाे । 

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भन्नुभयो, 'यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।'

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैले छानबिन समिति बनाएको उहाँले बताउनुभयो । 

देशैभरिको उपचुनावमा वातावरण कांग्रेसका पक्षमा भएको दाबी गर्दै उहाँले कास्की क्षेत्र नम्बर २ मा हुने  पार्टीले दुई हजार ४ सयभन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिनुभयो । कास्की क्षेत्र नम्बर २ मा कांग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उहाँले चुनावमा कांग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई चुनाव जित्न सहज बनाएको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया