नेपालको भूमि फिर्ता भएरै छाड्छ : अध्यक्ष प्रचण्ड

 मंसिर ९, २०७६ सोमबार १९:५२:५९ | रासस
unn.prixa.net

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताउनुभएको छ ।

नेकपाको भरतपुर महानगरपालिका-१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, 'सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूमि फिर्ता भएरै छाड्छ ।' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भन्नुभयो, 'अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।' 

दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उहाँको भनाइ थियो । उहाँले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पार्नुभयो । 

अध्यक्ष प्रचण्डले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताउनुभयो । उहाँले थप्नुभयो, 'प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।' 

अध्यक्ष प्रचण्डले आउँदाे उपचुनावमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी गर्नुभयो । नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी अनर्गल प्रचारमा लागेको उहाँको भनाइ थियो ।

चितवन क्षेत्र नम्बर ३ का निर्वाचित सांसदसमेत रहनुभएका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाउनुभएको थियो । उहाँले नेकपाको उम्मेदवारलाई मतदान गर्न पनि अपिल गर्नुभयो । 

निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोल्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया