‘टेस्ट राइड’ पछि मोटरसाइकल गायब...

 मंसिर १२, २०७६ बिहिबार १२:२८:४५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन् ।  होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।
 
काठमाण्डौमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले  ६ लाख ५० हजार रुपैयाँ पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राख्नुभयो । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भन्नुभयो । टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उहाँलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाण्डौमा खबर गर्नुभयो ।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख  रुपैयाँ चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।

पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा त्याे मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउनुहुन्छ । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उहाँले बताउनुभयो । उसले यसअघि पनि टेस्ट राइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला-बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ ।

बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया