राष्ट्रियसभा सदस्य चुनावकाे तयारीमा निर्वाचन आयाेग

 मंसिर १८, २०७६ बुधबार १३:५१:० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपचुनाव सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको चुनावको तयारीमा जुटेको छ ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि स‌ंसदबाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।

रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति संघीय संसदबाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्नुहुन्छ, 'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको चुनाव सक्नु पर्नेछ ।' राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनावी गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । त्यसअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डाक्टर युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थ मन्त्रीसमेत रहनुभएका राष्ट्रियसभा सदस्य डाक्टर युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको थियो । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ ।

राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि चुनावको मिति घोषणा गरिनेछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका मतदाता हुन् ।

यो चुनावमा पहिलो हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो चुनाव प्रत्येक प्रदेशमै हुने र त्यही त्यही प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनुहुनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया