सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही गरिनेछ : मन्त्री नेम्वाङ

 मंसिर २२, २०७६ आइतबार १६:८:३७ | रासस
unn.prixa.net

रुपन्देही - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम नसकी अलपत्र पार्नेलाई कारबाही गरिने बताउनुभएको छ ।

उहाँले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारबाहीस्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताउनुभएको छ । 

रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

उहाँले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको जानकारी दिनुभयो ।

यही डिसेम्बरको अन्तिमसम्ममा भैरहवाबाट लुम्बिनी पुग्ने सडक एकतर्फी भए पनि कालोपत्रे गर्न निर्देशन दिनुहुँदै मन्त्री नेम्वाङले भन्नुभयो, ‘भ्रमण वर्षको शुरुवातसँगै लुम्बिनी आवतजावत गर्न पर्यटकलाई कुनै पनि किसिमले समस्या हुनु हुँदैन ।’

उहाँले निर्माण कम्पनीले अलपत्र पारेर छाडेका भैरहवा लुम्बिनी सडकका तिनाउ र दानव नदीका दुई ओटा पुलको ठेक्का केही दिनभित्रै तोडेर भए पनि काम अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

मन्त्री नेम्वाङले हाल अलपत्र पारिएका पुलको नयाँ प्रक्रियाबाट काम अघि बढाउने र दुबै नदीमा त्यसै ठाउँमा दुई लेनका दुई ओटा पुल थपेर सडकलाई चार लेन पुर्‍याइने बताउनुभयो । उहाँले तत्कालको अवागमनलाई सहज बनाउन उक्त ठाउँमा बेलिब्रिज वा अन्य विकल्पका बारेसमेतमा अध्ययन भइरहेको जानकारी दिनुभयो । 

लुम्बिनी परिपथसहितको रुपन्देहीका ४१ किलोमिटर सडक र पुल द्रुतगतिको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्वाङले निर्देशन दिनुभयो । उहाँले सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको (विस्तृत आयोजना प्रतिवेदन) डीपीआर निर्माणको काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र बोलपत्र खुलाउने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायातमा एकाधिकार खारेज भइसकेको र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक विस्तारको कामको डीपीआएर निर्माण र लगानीको सुनिश्चितताको काम यसै वर्ष हुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया