चिसाेले विद्यार्थीकाे हात कठ्याङ्ग्रिएपछि सुर्खेतमा आगाे बालेरै परीक्षा सञ्चालन

 मंसिर २७, २०७६ शुक्रबार २०:४३:४१ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेगमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । 

यही मंसिर १९ गतेबाट जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका ४ को नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिनुभयो । 

‘बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ’, शिक्षक शाहीले भन्नुभयो, ‘बर्सेनि जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।’ 

स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारेको खण्डमा विद्यार्थीले यो समस्या भोग्नु नपर्ने उहाँको भनाइ थियो । 

चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले भारी हिमपातका कारण परीक्षार्थीहरु थरथर काँप्दै लेख्न बाध्य भएकाे बताउनुभयो । उहाँले भन्नुभयो, ‘चन्दननाथ नगरपालिकाको निर्देशन बमोजिम हामीले यही मंसिर २५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरेका छौँ , हिमपातले विद्यार्थी शिक्षक सबैलाई परीक्षा दिन लिन गाह्रो भएको छ ।’ 

चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन । हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ । 

निम्न वर्गीय घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो । डा. तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान आग्रह गर्नुभयो ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ । सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘चिसो भए पनि सेवा प्रवाह गरिरहेका छौँ । हिजो अस्तिभन्दा हिमपातले सेवाग्राहीको आगमन घटेको छ’, श्रेष्ठले भन्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया