न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ ।
सफाइ अभियानकर्मीको सक्रियतामा बेटर नेपालको आयोजनामा भएको पदयात्रामा ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । पदयात्राको सुरुआत गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्वतःस्फूर्त रुपमा सम्पदा सफा गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिनु उत्साहजनक काम भएको बताउनुभयो ।
पुरातात्विक, ऐतिहासिक स्थलबाट पदयात्रा सुरु हुनु पर्यटन वर्षका लागि उत्साहको विषय हो, हाम्रो जननी राष्ट्रप्रति हामीले गौरव गर्नुपर्छ, पाँच हजार वर्ष पुरानो इतिहास बोकेको नेपालले कसैको अघि घुँडा टेकेको छैन, यसैले हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ, लोकतन्त्र दिवस र गणतन्त्र दिवस मनाउँछौँ, उहाँले भन्नुभयो ।
भ्रमण वर्षको सफलताका लागि पर्यटकलाई मुस्कानले स्वागत गर्नुपर्ने, सम्पदा, नदी नालालाई सफा राख्नसके सुन्दर काठमाडौँमा लाखौँ विदेशी पर्यटक आउने नेता नेपालको विश्वास थियो ।
सफाइ गर्ने संस्कार बालबालिकादेखि नै सुरु गर्नुपर्ने उहाँको भनाइ थियो । पर्यटन वर्षका लागि सम्पदा स्वच्छ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेटर नेपालकी अध्यक्ष एवं वाग्मती सफाइ अभियानकर्मी माला खरेलले बताउनुभयो । कार्यक्रम संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले उपत्यकाका सम्पदा सफाइका लागि जनचेतना जगाउन शनिबारदेखि एक महिना पदयात्रा अभियान चलाइने बताउनुभयो ।
पदयात्रा प्रत्येक हप्ता शनिबार एउटा सम्पदाबाट अर्को सम्पदासम्म गरिने छ ।
पदयात्रा पशुपति–जयवागेश्वरी–गौशाला–रातोपुल–ज्ञानेश्वर–सानोगौचरण–नारायणहिटी–ठमेल–ठहिँटी–इन्द्रचोक हुँदै वसन्तपुर आइपुगेको थियो । बाजागाजा एवं सांस्कृतिक झाँकीसहितको पदयात्रालाई पशुपति क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दिनेशकुमार डङ्गोल सहितका जनप्रतिनिधि, गौशालामा वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठसहितका जनप्रतिनिधि र रातोपुलमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की सहितका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।
वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य गणेश दुलालले भ्रमण वर्षमा सम्पदा सफाइ अभियानलाई सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पनि पहल गर्ने वचन दिनुभयो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिकी कार्यकारी निर्देशक अरुणा नकर्मी, सफाइ अभियानकर्मीद्वय रोहित गिरी र कञ्चन रावत लगायतले सफा काठमाण्डौको जनचेतना अभिवृद्धिका लागि भ्रमण वर्ष पूर्वसन्ध्यामा सम्पदा पदयात्रा गरिएको जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।