सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - आउँदाे वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ ।
पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीलाई सुन्दर बनाउने काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ । त्यसपछि इँटा लगाउने तयारी छ । हाल ६० कामदारले काम गरिरहेका छन् ।
गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो । निधारीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । माघ अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालोमाटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणले जनाएको छ ।
बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ । त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन् ।
उहाँले भन्नुभयो, “निर्माणअन्तर्गत धेरै काम सकिएको छ । बाँकी काम पनि नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न हुनेमा कुनै शङ्का लिनु पर्दैन ।” सुरुमा काठमाण्डाै महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काम अघि बढ्न सकेन ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी तुलसी कन्स्ट्रक्शन जेभीसँग सम्झौता गरेको हो ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।
रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माणकार्य करीब पाँच वर्ष्भित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।