कोरोना भाइरस : लक्षण तथा बच्ने उपाय

 माघ ११, २०७६ शनिबार १९:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार एक साता अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । कोरोना भाइरसबाट हालसम्म संक्रमित भेटिएका तीनमध्ये एक जनालाई टेकु अस्पतालमा राखिएको छ । 

टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ । साथै, टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

संक्रमणबाट चीनको हुबेइमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ । 

हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निक्कै खतरनाक मानिएको छ । 

के हो त कोरोना भाइरस ? 

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । 

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् । 

काेराेना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, 

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । 

कसरी हुन्छ संक्रमण ?   

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ । 

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन । 

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन । 

कसरी बच्ने ? 

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने 

– नियमित साबुन पानीले हात धुने, 

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया