कोरोना भाइरस : विश्वका प्रायः सबै देशमा ‘लकडाउन', चीन सामान्य अवस्थामा फर्कंदै

 चैत १२, २०७६ बुधबार ७:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन भारतमा पनि ‘लकडाउन’ सुरु भएको छ । गएराति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ । 

उहाँले गएराति देशबासीका नाममा सम्बोधन गर्नुहुँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने घोषणा गर्नुभएको हो । 

कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भएका छन् । 

यस्तै अरु देशमा ‘लकडाउन’ सुरु भैरहेको बेला चीनको वुहानमा भएको ‘लकडाउन’ भने आजदेखि आउँदो २६ गतेसम्मका लागि आंंशिक रुपमा खुलाउने तयारी छ । 

धेरै दिनपछि हिजो एक जनामात्रै नयाँ सङ्क्रमित भेटिएपछि वुहानको लकडाउन आंशिक रुपमा खुलाउन लागिएको त्यहाँको सरकारले जनाएको छ । 

यसैबीच दक्षिण अफ्रिका सरकारले पनि २१ दिने ‘लकडाउन’ घोषणा गरेको छ । यस्तै अस्ट्रेलियाले १० जनामात्र मलामी जान र विवाह समारोहमा ५ जना मात्र सहभागी हुन निर्देशन दिएको छ । 

अहिलेसम्म विश्वका १ सय ९७ देश र जापानको योकोहामामा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । अहिलेसम्म नेपालका दुई जनासहित ४ लाखभन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् । 

वल्डओमिटरका अनुसार अहिलेसम्म ४ लाख २० हजार ७ सय २९ जनामा सङ्क्रमण भएकोमा एक लाख ८ हजार ३ सय २३ जना स्वस्थ भएका छन् । 

जसमा गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना संक्रमित निको भैसकेका छन् भने अहिले एक जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ । 

उनीसहित २ लाख ९३ हजार ६ सय ६ जनाले उपचार गराइरहेका छन् । १८ हजार ८ सय जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया