माेरङ – 'चोरको हजार दाउ' भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो ।
निज नेपालले सिक्री मन नपरेको बताउँदै सिक्री फिर्ता गरेका थिए । पसलेलाई शंका लागेर प्रहरीमा खबर गरेपछि वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरीर खानतलासी गर्ने क्रममा सिक्री फेला नपरेपछि निलेको हुनसक्ने अनुमान गर्दै भिडियो एक्सरे गरिएको अवस्थामा पेटभित्र सिक्री देखा परेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अन्तिम अपडेट: माघ १, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।