कोरोना प्रभाव : नयाँ वर्षमा जात्रामय हुने भक्तपुर र थिमि यस वर्ष सुनसान

 बैशाख १, २०७७ सोमबार २०:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आजको दिन विभिन्न जिल्लाबाट हजारौँको भीड लाग्ने गर्दथ्यो । परम्परागत तान्त्रिक विधिअनुसार वैशाख १ गते भक्तपुर र थिमिमा मनाइने बिस्केट जात्रा हेर्न बिहानदेखि घुइँचो हुन्थ्यो । 

भक्तपुरको ल्यासिंकखेलमा चैत मसान्तमा लिङ्गो उठाएपछि १ गते दिनभरि जात्रा गरी राति लिङ्गो नढालेसम्म विभिन्न जिल्लाबाट जात्रा हेर्न आउने हजारौँको घुइँचो यस वर्ष कोरोना भाइरसको असरका कारण सम्झनामा मात्रै सीमित भयो ।

टौमढी युथ क्लब भक्तपुरका पूर्वअध्यक्ष विजय धौभडेल आजको दिन विगतका जात्रा सम्झेर, पुराना बिस्केटका फोटो, भिडियो हेरेर चित्त बुझाउनु परेको बताउनुहुन्छ । 

५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरेमा सहकाल आउने, मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहे पनि यस वर्ष जात्रा हेर्न र मनाउन नपाएको स्थानीयवासी बताउँछन् । 

घरघरमा हुने भोज यस वर्ष कसैको घरमा भएन । न त स्वदेशी, विदेशी पाहुना नै आए ।

सुनसान चरखण्डी 

सूर्यविनायक नगरपालिकाको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा भने आज बिहानैदेखि स्थानीय दर्शनार्थी पुगेका थिए ।हरेक वर्ष वैशाख १ गते राति २ बजेदेखि दर्शनार्थीको घुइँचो लाग्ने यो मन्दिर यस वर्ष न सिङ्गारियो, न त खट जात्रा नै गरियो तर पनि स्थानीयवासीले सामाजिक दूरी कायम गरेर पूजा भने गरेका छन् । 

त्यसैगरी दधिकोटको चित्रपुरमा रहेको पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानदेखि मेला लाग्ने गरेकामा यस वर्ष गणेशको खट जात्रासमेत गरिएन । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाउने र मेला भर्ने यो मन्दिरमा आज न त खट उचालियो न त धिमाय बज्यो । 

यता सिरुटार र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा भने सामाजिक दूरी कायम गरेर बिहान स्थानीयवासीलाई पूजा सञ्चालन गर्न दिइएको थियो । 

थिमिको चान्हेसिया अर्थात् रात्रिको जात्रा पनि भएन 

मध्यपुरथिमिमा चैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा यस वर्ष भएन । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गर्ने परम्परा भए पनि यस वर्ष द्योछेंंबाट देवता निकालिएन । जात्रा पनि भएन । 

त्यसैगरी मध्यपुर थिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकालीमा मनाउने जात्रा पनि हुन सकेन । सूर्यविनायकको कटुञ्जेमा रहेको सुशिला भैरवको जात्रा पनि यस वर्ष रोकिएको छ ।

सुशिला भैरवलाई खटमा राखेर टोलटोल घुमाएर घरघरबाट पूजा गरी मनाइने यो जात्रा यस वर्ष कोरोना भाइरसकै कारण बन्द भएको स्थानीयवासी अमर भुजुले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया