ऋषि कपूरकाे निधनपछि नरेन्द्र माेदी र अन्य कलाकारले के भने ?

 बैशाख १८, २०७७ बिहिबार १२:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलिवुड दिग्गज अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हिजो मात्रै अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको थियो भने आज फेरि बलिवुड फिल्म उद्योगले अर्का स्टार अभिनेतालाई गुमाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अभिनेता ऋषि कपूरकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । ऋषि कपूर क्षमताकाे पावरहाउस रहेकाे र फिल्मप्रति विशेष लगाव तथा देश विकासमा सधैँ ध्यान दिने भन्दै माेदीले ट्वीट गरेका छन् । 

बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको निधनप्रति शोक व्यक्त गरेका छन् । बच्चनले ट्वीटमा लेखेका छन्, ‘उनी यो संसार छोडेर गए ..! ऋषि कपूर यो संसार छोडेर गइसके ।  म बर्बाद भएको छु ।’

अहिले यो ट्वीट हटाइएको छ ।

अभिनेता ऋषि कपूरको निधनको खबर सार्वजनिक भएसँगै पूरै बलिवुड शोकमा डुबेको छ । कलाकारहरुले सामाजिक सञ्जालमार्फत ऋषि कपूरलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । 

अभिनेता अक्षय कमारले ट्वीटरमा लेखेका छन्, ‘यस्तो लाग्दैछ कि म कुनै भयानक सपना देखिरहेको छु । मलाई भर्खरै ऋषि कपूरको निधन भएको थाहा भयो । यो हृदयविदारक हो । उनी दिग्गज कलाकार, उत्कृष्ट सहअभिनेता हुन् र मेरो परिवारका असल मित्र हुन् ।

अभिनेत्री जुही चावलाले लेखेकी छिन्, ‘यो हुन सक्दैन, यो हुनु हुँदैन थियो । यो निकै नै दुखद हो । म यति हैरान भएकी छु कि यहाँहरुलाई बताउनका लागि मसँग शब्दहरु नै छैनन् । 

अभिनेत्री अनुष्का शर्माले एकपछि अर्को दुखद खबर भएको बताएकी छिन् । 

प्रियङ्का चोपडाले पनि ऋषि कपूरलाई श्रद्धाञ्जली दिँदै कपूरकी श्रीमती नीतु कपूर, छोरी रिधिमा तथा छोरा रणबिर कपूरलगायत कपूर परिवारलाई समवेदना दिएकी छिन् ।  

अन्तिम अपडेट: जेठ २४, २०७७

तपाईको प्रतिक्रिया