भाइबर कम्युनिटीबाट हामीले नेपालीलाई विश्वसनीय जानकारी दिइरहेका छौँ

 जेठ ८, २०७७ बिहिबार १४:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राकुटेन भाइबर नेपालको सबैभन्दा लोकप्रिय मेसेजिङ्ग एप्सको रूपमा रहेको छ । नेपालमा ८० लाख भन्दा धेरैले अहिले भाइबर प्रयोग गरिरहेका छन् । कुल स्टिकर, सेलिब्रिटी कम्युनिटी तथा प्रयोगकर्तामैत्री सुविधाको कारण परम्परागत रूपमा सन्देश प्रवाह गर्ने एप्सको तुलनामा यो लोकप्रिय बन्न पुगेको हो । कोरोना महामारीको अद्यावधिक सूचना, रोकथाम उपाय र विकासक्रमका बारेमा यथार्थपरक जानकारी दिनको लागि भाइबरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहकार्य गरिरहेको छ । भाइबरले गरिरहेका पहलहरूबारे हामीले सिङ्गापुरमा रहेको रतुकेन भाइबर, एसिया प्यासेफिकका वरिष्ठ निर्देशक अनुभव नय्यरसँग कुराकानी गरेका छौँ ।

कोरोना भाइरस महामारीविरूद्ध लड्नको लागि सूचना प्रवाह गर्ने एप्सले कस्तो भूमिका खेलिरहेको छ ?

भाइबरलगायतका सूचना प्रवाह गर्ने एप्सले अहिले विभिन्न देशका विभिन्न संस्थाहरूसँग मिलेर काम गरिरहेका छन् । सर्वप्रथम, विश्वनीयताको सुनिश्चितता गर्दै हामीले नागरिक तथा भाइबर प्रयोगकर्ताहरूलाई प्रामाणिक जानकारीमा पहुँच पुर्याइरहेका छौँ । यसको लागि हामीले नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग  साझेदारी गरेका छौँ । भाइबर कम्युनिटीको माध्यमबाट महामारीको समयमा हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र विश्वनीय जानकारी प्राप्त गरिरहेका छन् । यस्ता सूचनामा पहुँचको कारण नागरिकहरूमा विश्वासको वातावरण सृजना भएको छ । उनीहरुले हल्ला र गलत सूचनामा भर पर्नु परेको छैन । दोस्रो, अहिले मानिसहरूले सामाजिक दूरी पालना गरिरहेका छन् । घरमा नै सुरक्षित भएर बसिरहेका छन् । यही कुरालाई मध्यनजर गरेर हामीले उनीहरूलाई एकै समयमा एकै ठाउँमा ल्याउनको लागि नयाँ सुविधाहरू प्रस्तुत गरेका छौँ । 

एप्स प्रयोगको आधारमा के तपाईंले प्रयोगकर्ताको व्यवहारमा कुनै परिवर्तन देख्नु भएको छ ?

हामीले हाम्रा सबै सेवाहरू एकदमै छोटो समयमा ल्याएका छौँ ।  तपाईंले मेसेज पठाउने वा फोन गर्ने सेवालाई हेर्नुभयो भने उदाहरणको लागि नेपालमा हाम्रो प्रयोगकर्ताको सङ्ख्या झन्डै दोब्बर भएको छ । त्यस्तै समूहगत रूपमा गरिने प्रयोगकर्ताको सङ्ख्या निकै बढेको छ । केही महिनाअघि समूहमा गरिने फोनको सुविधा पाँच व्यक्तिमा मात्र सिमित थियो, अर्थात पाँच व्यक्तिसँग मात्र समूहगत रूपमा कुरा गर्न सकिन्थ्यो । वर्तमान अवस्थालाई ध्यानमा राखेर हामीले केही  परिवर्तन गर्नुपर्ने महसुस गर्यौँ । अब भाइबरबाट २० जना सदस्यसँग एकैचोटि फोन गर्न सकिने सुविधा थप भएको छ । यसको राम्रै प्रतिक्रिया आइरहेको छ । मानिसहरू अहिले घरमा बसिरहेका छन् । त्यसैले हामीले उनीहरूको भावनालाई बुझेर सेवालाई विस्तार गरेका छौँ । उनीहरूले धेरै भरपर्दो र सुरक्षित अनुभवहरू पाइरहेका छन् भन्ने हाम्रो अनुभव छ ।

रतुकेन भाइबरले कोरोना महामारीविरुद्ध लड्न कसरी भूमिका खेलिरहेको छ, अझ केही प्रष्ट्याउनु हुन्छ कि ?

हामीले धेरै पक्षमा काम गरिरहेका छौँ । तर म तपाईंलाई दुईवटा उदाहरण दिन चाहन्छु, म्यानमार र नेपालको । हामीले विश्व स्वास्थ्य सङ्गठनसँग साझेदारी गरेका छौँ । भाइबरभित्र च्याटबट सुरू गरेका छौँ । यसले कोरोना सङ्क्रमणको लक्षण जाँच गर्न सक्दछ । सत्य जानकारी दिन सक्दछ । तपाईंलाई वरिपरिका धेरै सूचना दिन सक्दछ । अझ नेपालमा हामीले स्वास्थ्य मन्त्रालयसँग काम गरिरहेका छौँ । त्यहाँ हामीले कम्युनिटी खोलेका छौँ जसमा मानिसहरू सम्मिलित हुन सक्छन् । मलाई लाग्छ, अहिले यसमा करिब ३ लाख सदस्य भइसकेका छन् । उनीहरूले सरकारबाट अद्यावधिक जानकारी सोझै पाउन सक्छन् । ताजा सूचना प्राप्त गर्न सक्दछन् । सरकारले गरिरहेका कामबारे पनि थाहा पाउन सक्छन् । 

गलत सूचनाबाट जोगिनको लागि भाइबरले डब्ल्यूएचओसँग गरिरहेको सहकार्यबारे केही अनुभव बाँड्न चाहनुहुन्छ ?

महामारी सुरू भएदेखि हामीले डब्ल्यूएचओसँग साझेदारी गरिरहेको छौँ । हामीलाई नियमित रूपमा प्रयोग गर्ने धेरै प्रयोगकर्ताहरू छन् । उनीहरूलाई भरपर्दाे सूचनामा पहुँच पुर्याउने हाम्रो मुख्य उद्देश्य हो । डब्ल्यूएचओमा अहिले लगभग २९ लाख ‘सस्क्राइबर’ छन् । हाम्रो उद्देश्य धेरैभन्दा धेरै मानिसलाई नियमित सेवासहित च्याटबटको विशेष सेवा प्रदान गर्नु हो ।

यसैबीच भाइबरले स्वास्थ्य मन्त्रालयजस्ता धेरै सरकारी संस्थासँग सक्रिय रूपमा काम गरिरहेको छ । यसबारेमा थप जानकारी दिनुहुन्छ कि ? 

एकातिर डब्लुएचओसँगको सहकार्य छँदैछ । हामीले नेपालको स्वास्थ्य मन्त्रालयसँग पनि मिलेर काम गरिरहेका छौँ । मानिसहरू नेपालको बारेमा मात्र पनि जान्न चाहन्छन् । नेपालको ताजा अवस्थाबारे जानकारी राख्न चाहन्छन् । त्यस्तै  काठमाण्डौ र पोखरालगायतका निश्चित सहरबारे पनि जान्न चाहन्छन् । त्यसकारण  हामीले नेपालमा के भइरहेको छ भन्ने जानकारी दिनको लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेका छौँ । त्यसैले सरकारसँग मिलेर हामीले काम गरिरहेका छौँ । भाइबर कम्युनिटीको माध्यमबाट जानकारी दिइरहेका छौँ । 

यो कम्युनिटी जसले पनि सजिलै खोज्न सक्दछ, फलो गर्न सक्दछ । मुख्यतः स्वास्थ्य मन्त्रालयले सबै जानकारी प्रकाशित गर्दछ । त्यसैले यो जानकारी भरपर्दो हुन्छ । कम्युनिटीको माध्यमबाट हामीले हाम्रा सबै प्रयोगकर्तालाई भरपर्दो जानकारी दिइरहेका छौँ । साथै नेपालमा धेरै प्रयोगकर्ताले हामीलाई नियमित रूपमा प्रयोग गरिरहेका छन् । त्यसैले मन्त्रालयको सही जानकारी धेरै प्रयोगकर्तासमक्ष पुर्याउन हामीले भूमिका खेलिरहेका छौँ ।

यी बाहेक कोरोना महामारीको सम्बन्धमा भाइबरले अरू के के  पहल गरिरहेको छ ?

मलाई लाग्छ, मानिसहरू सुरक्षित भएर घरमा बसिरहेको यो चरण एकदमै महत्त्वपूर्ण छ । उनीहरूलाई माया गर्ने व्यक्तिहरू, साथीहरू, परिवार वा अन्य व्यक्तिहरूलाई एकै थलोमा एकत्रित गर्नको लागि यो समय एकदमै महत्त्वपूर्ण भएको हाम्रो अनुभव छ । त्यसैले हामीले हाम्रो समूहगत कललाई २० सदस्य सम्ममा बढाएका छौँ । यो सुविधा केवल साथीहरू, परिवारले मात्र नभएर, कर्पोरेट हाउस र संस्थाहरूले पनि प्रयोग गरिरहका छन् । त्यस्तै शिक्षण संस्थाहरूले पनि हाम्रा सेवा र सुविधालाई प्रयोगमा ल्याएका छन् । त्यसैले हामीले दुईटा पक्षमा काम गरिरहेका छौँ । एउटा, हाम्रो मुख्य उत्पादन र सेवाहरू विस्तार एवम् सुधार गर्नेतिर हामी लागेका छौँ भने अर्को, विभिन्न सरकारी सङ्गठनसँग सहकार्य गरेर मानिसलाई सही समयमा सही सूचना दिइरहेका छौँ ।

अन्त्यमा तपाईंका केही सन्देश छन् भने राख्न सक्नुहुन्छ ।

म र मेरो सङ्गठनको तर्फबाट स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न सबैलाई अनुरोध गर्न चाहन्छु । नेपालमा सबै कुरा पहिलेकै अवस्थामा द्रुत रूपमा सुधार हुनेछ भन्ने म आशा गर्दछु, कामना गर्दछु । सरकारको सुझाबको पालना गरेर सबैजना घरमै सुरक्षित भएर बस्नु हुनेछ र सामाजिक दूरी कायम राख्नु हुनेछ भन्ने मेरो चाहना छ । सही सूचना प्रवाह गरेर हाम्रो कम्पनीले नेपाल र तपाईंहरूलाई मद्दत गर्न चाहन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया