उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपीएफलार्इ

 साउन १५, २०७५ मंगलबार १९:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

सातोबाटोमा रहेकाे एन्फा मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो ।

एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले आज पहिलो हार व्यहोरेको हो ।

पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै सावित्राले सुरुवाती गोल गरेकी थिइन ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खाएकाे थियाे ।

४९ औं मिनेटमा आर्मीकी पुनम मगरले बराबरी गोल गरेकी थिइन् । त्यसपछि सावित्राले ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् ।

उपाधि विजेता एपीएफले नगद २ लाख प्राप्त गर्याे भने उप विजेता भएको आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्याे ।

यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

आजै उपाधि होडबाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको  थियो ।

पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन् ।

यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए । आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया