क्वरेण्टीनमा महिलामाथि सामूहिक बलात्कार : काे जिम्मेवार ?

 असार २, २०७७ मंगलबार १६:१:२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीको डर बढेसँगै सरकारले विदेशबाट आएका नागरिकलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राख्ने व्यवस्था गरेको छ । गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याइएका एक सय ७५ जनालाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वरेण्टीनमा राखियो । 

क्वरेण्टीनमा बसेर घर फर्किएकाहरुले क्वरेण्टीन सुरक्षित र व्यवस्थित भएको भन्दै सरकारको खुलेरै प्रशंसा गरे । तर सरकारले भारतबाट फर्किने नागरिकको लागि बनाएको क्वरेण्टीन निकै अव्यवस्थित भएको क्वरेण्टीनमा बसेकाहरुले गुनासो गरेका छन् । उनीहरुले गुनासो गरिरहँदा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वरेण्टीनमा बसेकी ३१ वर्षीया महिला बलात्कृत भएको घटनाले क्वरेण्टीन महिला र बालिकाका लागि झनै असुरक्षित भएको देखाएको छ । 

दुई जना मिलेर आफूलाई बलात्कार गरेको र अर्का एक जनाले भिडियो खिचेको पीडित युवतीले महिला अधिकारकर्मीसँग बताउनुभएको छ । उनीहरुले बलात्कारपछि पैसा मागेको र नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएको पाइएको बलात्कृत महिलालाई भेटेर फर्किनुभएकी महिला अधिकारकर्मी निर्मला बाग्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन जनाले राति बोलाउँदा महिलाले अहिले होइन भोलि बिहान कुरा गरौँ भनेको तर पछि दुई जनाले बलात्कार गरेर अर्का एक जनाले भिडियो खिचेको रहेछ । ती महिला अहिले निकै असहज अवस्थामा हुनुहुन्छ । हामी सम्झाउने कोसिस गरिरहेका छौँ ।’ 

यो घटनाले महिलाको लागि क्वरेण्टीन कति असुरक्षित छ भन्ने देखाएको छ । सरकारले क्वरेण्टीनमा व्यक्तिगत सुरक्षासँगै सरसफाइको सामग्री हुनुपर्ने, व्यक्तिगत दुरी कायम गरेर शारीरिक व्यायाम, मनोपरामर्शसम्बन्धी क्रियाकलाप हुनुपर्नेलगायतका विषय समेटेर निर्देशिका नै जारी गरेको छ । तर निर्देशिकामा उल्लेख भए अनुसार व्यवहारमा उल्लेख नभएको उनीहरुको गुनासो छ । क्वरेण्टीन बनाइएका कोठामा चुकुल नभएको, शौचालयको व्यवस्था नभएको, महिलाले महिनावारी भएको बेलामा प्रयोग गर्नुपर्ने प्याड नभएको, खाना र पानीको पनि राम्रो सुविधा नभएको, महिला र पुरुष एकै कोठामा बस्नुपर्दा झन् जोखिम भएको क्वरेण्टीनमा बसिरहेकाहरुको गुनासो छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर दुई लाख ५३ हजार नौ सय ६४ क्वरेण्टीन बेड छ । त्यसमध्ये अहिलेसम्म एक लाख ३३ हजार आठ सय २९ जना क्वरेण्टीनमा रहेका छन् । तीमध्ये कति महिला छन्, कति पुरुष छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन ।

जिम्मेवारीबाट पन्छिने प्रवृत्ति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्वरेण्टीनबारे पालिकाले नै हेर्नुपर्ने भन्दै कैलालीमा घटेको घटनाबाट पन्छिन खोजेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वास्थ्य उपचारको क्षेत्रबाहेक अरु व्यवस्थापनको पाटो मन्त्रालयले नहेर्ने भन्दै यसबारेमा आफू बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यको पाटो हामीले हेर्ने हो अरु कुरा थाहा भएन । सुरक्षालगायतका विषय सम्बन्धित पालिकाले हेर्ने गर्छन् ।’

यस्तै क्वरेण्टीनमा रहेकाहरुको तथ्याङ्क सङ्कलनदेखि क्वरेण्टीन व्यवस्थापनको लागि एउटा निकायले अर्को निकायलाई औँला देखाएर जिम्मेवारीबाट पन्छिने काम भइरहेको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वरेण्टीनमा रहेकाको तथ्याङ्क राख्नुपर्ने भनिरहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तथ्याङ्क राख्नुपर्ने भएकाले आफूहरुले नराखेको जनाएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव वसन्त अधिकारीले क्वरेण्टीनको जिम्मेवारी मन्त्रालयको भए पनि तथ्याङ्क भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राख्नुपर्ने बताउनुभयो । यता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भने तथ्याङ्क कहाँबाट कसरी सङ्कलन गर्ने भन्नेमा नै अलमल भएकोले अहिलेसम्म सुरु नै नगरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले तथ्याङ्क सकलन कहाँ कसरी गर्ने अन्योल भएकाले नै सङ्कलन गर्न नसकिएको बताउनुभयो । 

सबै मन्त्रालयले क्वरेण्टीनको जिम्मा पालिकाको भएको भनिरहँदा नै क्वरेण्टीनको अवस्था डामाडोल भएको अर्थ लगाउन गाह्रो नहोला । कैलाली घटना त प्रतिनिधि मात्र हो । अहिले पनि देशभरका विभिन्न क्वरेण्टीन महिला, गर्भवती, बिरामी र सुत्केरीको लागि बस्न निकै कठिन अवस्थाको छ । 

घटना घटेको कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँ क्वरेण्टीन सुरक्षित बनाउन अझै लागिपर्ने बताउनुहुन्छ । ‘परिवार नै छ भने सँगै राख्ने गरेका छौँ तर ती महिला एक्लै भएकोले छुट्टै राख्दा घटना घटेको छ’, बजगाईँ भन्नुहुन्छ, ‘२० जना रहेका क्वरेण्टीनमा महिला एक्लै भएपछि छुट्टै कोठामा बस्नुभएको थियो । त्यही मौकाको फाइदा क्वरेण्टीनमा रहेका स्वास्थकर्मीसहितका तीन जनाले उठाएको देखिन्छ । अब थप विवेक प्रयोग गरेर महिलाको सुरक्षाको व्यवस्था मिलाउने तयारी गरेका छौँ ।’

क्वरेण्टीन व्यवस्थापनको लागि भन्दै पालिकाहरुले दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च गरिसकेका छन् तर यत्रो रकम खर्च गर्दा पनि क्वरेण्टीन असुरक्षित हुनु लापर्वाही भएको मान्न सकिन्छ । क्वरेण्टीनमा बस्ने महिला तथा बालबालिकाको सुरक्षाको जिम्मेवारी पालिकाको हो । तर क्वरेण्टीनमा बस्ने व्यक्ति स्वयंले पनि आफू सुरक्षित हुने उपाय अपनाउनुपर्छ ।

क्वरेण्टीन सुरक्षित छ/छैन

महिला साथी भए समूहमै बस्ने, एउटा क्वरेण्टीमा आफूमात्र भए सुरक्षित महसुस भएमात्र बस्नुपर्छ, आफूलाई राख्ने कोठामा ढोका, चुकुल, झ्याल भए वा नभएको ख्याल गर्नुपर्छ । शौचालय जाँदा हुन सक्ने सम्भावित जोखिमको समेत अगाडि नै ख्याल गर्नुपर्छ । आफूलाई सुरक्षित नलागेमा सुरक्षाकर्मी अर्थात् पालिकाको नेतृत्वसँग कुरा गर्नुपर्छ । पालिकाको पुरुष नेतृत्वले आफ्नो समस्या नबुझे आफू क्वरेण्टीमा बसेको वडाका महिला सदस्यसँग सुरक्षाको विषयमा कुरा राख्नुपर्छ ।

क्वरेण्टीन सुरक्षित नभएको महसुस भएमा त्यहाँ एक्लै नबस्ने अडान लिनुपर्छ । क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता सबैको हो तर घरमै क्वरेण्टीनमा बस्ने सुविधासमेत पालिकाले मिलाउन सक्ने भएकोले सकेसम्म होम क्वरेण्टीनमै बस्ने अडान लिनुपर्छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया