ओली, प्रचण्ड र उपेन्द्र : श्री ३ को सरकार !

 साउन १९, २०७५ शनिबार ९:३५:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले देशमा रामराज्य थियो । नागरिकको हरेक पीर, मर्का बुझ्ने सरकार थियो । सरकारले कतै केहीमा पनि कर लिँदैनथ्यो । हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक घटना गराउने छुट कसैलाई थिएन । त्यस्तो अपराध भैहाल्यो भने अपराधी उतिखेरै समातिन्थ्यो र सिधै खोरमा जाकिन्थ्यो ।

घरघरमा पानी, निःशुल्क इन्टरनेट, बिरामीलाई निःशुल्क स्वास्थ्य जाँच र उपचार, सबैलाई सुलभ शिक्षा, उच्च शिक्षा पढ्ने बित्तिकै जागिर ! पहिलेको सरकार हुँदा मुलुकमा के मात्रै थिएन ! न बजारमा अभाव थियो, न कुनै सामानले महंगो हुने मौका पाउँथ्यो । दुःखी र गरिब त कोही पनि थिएनन् । भ्रष्टाचार कुन चराको नाम हो भन्ने कुरा आम नागरिकलाई थाहै थिएन । सत्ताको नेतृत्व गर्ने कांग्रेसका नेताहरु भ्रष्टाचारीको नामै सुन्न चाहँदैन थिए । नेतृत्व नै असल भएपछि इन्द्रेको बाउ चन्द्रेले पनि भ्रष्टाचार गर्न आँट गर्दैनथियो ।

अधिनायकवादी सरकारले एकपछि अर्को दम्भ देखाउँदैछ । मन्त्रिपरिषद बैठकमा कागजको सट्टा म्याकबुक प्रयोग गर्न थाले रे ! देशमा उत्पादन हुने लोक्ता वा नेपाली कागजको प्रयोग नगरेर सरकारले सरासर राष्ट्रहित विपरीतको काम गर्दैछ । कागज जस्तो म्याकबुक कहाँ हुन्छ ?

सरकारको अघिल्तिर भ्रष्टाचारी र अपराधी मात्र होइन, बाढी, पहिरोजस्ता प्रकोप पनि डराउँथे । न बाढी आउँथ्यो, न पहिरो खस्थ्यो । पहिरो, बाढी र अरु विपत्ति पनि सरकारको नाम सम्झेर थुरुरु काँप्थे । झुक्किएर विपत्ति आइहाल्यो भने पनि पीडितले उतिखेरै राहत पाउँथे । कसैले कतै गुनासो गर्न पर्देनथ्यो, राहत तत्काल पीडित खोज्दै आफै पीडितका घर घर पुग्थ्यो । न सडकमा खाल्डा हुन्थ्यो, न धुलो र हिलो । सबै सुखी थिए, सबैतिर समृद्धि थियो ।

यो त भयो रामराज्यको कुरा, जतिबेलासम्म कांग्रेस सत्तामा थियो । अहिले देशमा रामराज्य छैन । राम नाम भएका एकजना मान्छे मात्र सरकारमा छन्, रामबहादुर थापा । त्यसमा पनि बादल झुण्डिएका । रामले केही गर्न खोज्यो कि बादलले छेक्न खोजिहाल्ने । त्यसैले पछिल्तिर बादल भएका राम र उनका हनुमानले मात्र नागरिकलाई रामराज्य दिन सक्ने कुरो भएन, त्यसैले अहिले रामराज्यको कुनै छाँटकाँट छैन । नाममा राम भएका अरु रामचन्द्र, रामवरण, रामशरण मात्र होइन, बाबुराम पनि बाहिर छन् । यति धेरै रामहरु बाहिर भएपछि देशमा कसरी रामराज्य हुन्छ ? हुनै सक्दैन, त्यसैले बेथिति छ । 

देशमा रामराज्य बन्न नदिने अहिलेको सरकार अधिनायकवादी छ, सर्वसत्तावादी छ । अहिले सरकारको नेतृत्व गर्नेहरुले चुनावदेखि नै सर्वसत्तावाद लाद्न खोजेका हुन् । चुनावमा तालमेल गरेर जित्ने ? चुनावपछि पार्टी एकता गरेर एकलौटी सरकार चलाउने ? अनि मधेसवादी दललाई पनि बटुलेर दुई तिहाईको सरकार बनाउने ? एक दुई वर्षमा विपक्षीलाई पालो समेत नदिनेगरी पाँच वर्षसम्म एकलौटी सरकार चलाउन खोज्ने ? ५-५ वर्षसम्म उनीहरु मात्रै झण्डा हल्लाएर हिँड्ने ? वर्षौसम्म एकलौटी सासन गर्न खोजेपछि त्यो सर्वसत्तावाद हुन्छ । सर्वसत्तावाद रामराज्यको विपरीत हुन्छ । रामराज्यको विपरीत गएका सत्तावालहरुले अहिले सपना बाँडेर अधिनायकवाद सुरु गरेका छन् । 

रेल र पानीजहाजको सपना बाँड्ने ? बन्द, हडताल, जुलुस गर्न नदिने ? अलिअलि चर्कन थालेको आन्दोलन पनि मत्थर पार्नेगरी डाक्टरलाई रातारात जुस खुवाउने ? सुखी र समृद्धि भन्ने, गर्न चाहिँ केही नगर्ने ? जाबो मार्कसिट र जन्ममितिमा अल्झिएर प्रधानन्यायाधीश हुन लागेका मान्छेको बाटो रोक्ने ? दुई तिहाईले निर्णय गर्न खोज्ने ? यो सबै सर्वसत्तावादी र अधिनायकवादी सोचको उपज हो । 

दुई तिहाईको सरकारले आफूखुशी मात्रै निर्णय गर्न कहाँ पाइन्छ ? समाजमा अल्पसंख्यकको पनि कुरा सुन्नुपर्छ । चुनाव जितेर, एकता गरेर, दुई तिहाईको सरकार बनाएर ओली र प्रचण्डले अधिनायकवाद ल्याएकै हुन् । यिनीहरुको विरोध गर्नु कांग्रेस सहितका विपक्षीको नैसर्गिक अधिकार हो ।

अधिनायकवादी सरकारले एकपछि अर्को दम्भ देखाउँदैछ । मन्त्रिपरिषद बैठकमा कागजको सट्टा म्याकबुक प्रयोग गर्न थाले रे ! देशमा उत्पादन हुने लोक्ता वा नेपाली कागजको प्रयोग नगरेर सरकारले सरासर राष्ट्रहित विपरीतको काम गर्दैछ । कागज जस्तो म्याकबुक कहाँ हुन्छ ? कागजमा लेखिसकेपछि त डस्टबिनमा फाल्न मिल्छ । तर त्यति महंगो म्याकबुक फाल्न पनि मिलेन । अर्कोपटक म्याकबुक खोल्दा अघिल्लोपटक गरेको निर्णयमा आँखा पुग्छ । आँखा पुगेपछि त्यो निर्णय कार्यान्वयन गर्न मन लाग्ला । निर्णय गर्ने, तर कार्यान्वयन नगर्ने परम्परा तोड्न कहाँ पाइन्छ ?

त्यसमाथि अहिलेका प्रधानमन्त्रीको गतिविधि नै शंकास्पद छ । उनी नियमित रुपमा मानिसहरुसँग भेटघाट गर्ने, कसले के भनिरहेको छ वा गरिरहेको छ भन्ने कुराको जानकारी राख्छन् । सूचनाका लागि मोबाइललगायतका ग्याजेट, सामाजिक सञ्जाल र मिडियाको प्रयोग गर्छन् । सूचना उपयोगको विषयमा चाहिनेभन्दा धेरै चनाखो भएका छन् । सबैतिरका सूचना र जानकारी लिन खोज्नु त जासुसीको काम पो भयो । उनको यही शैलीले देशमा अधिनायकवाद भित्रिएको हो ।

त्यसैले अहिले रामराज्य नभएर ओलीराज छ । ओली, प्रचण्ड र उपेन्द्र यादव सँगै भएपछि श्री ३ को सरकार भयो । श्री ५ को भन्दा श्री ३ को सरकार झन् बढी खतरा हुन्छ भन्ने सबैलाई थाहा छ । तर सबैथोक भएर पनि सरकार केही गर्न आँट गर्दैन । पहिलेको आधा तिहाई र अहिलेको दुई तिहाईमा केही फरक छैन ।

भन्नलाई दुई तिहाईको सरकार भनेर दम्भ गर्छ, तर सानोतिनो कुरामा पनि प्रतिपक्षको सहमति पर्खेर बस्छ । प्रतिपक्षी देखेर तर्सिन्छ । यस्तो पनि दुई तिहाईको सरकार हुन्छ ? एक्लै आँट गर्न नसक्ने, डरछेरुवा सरकार ! ख्यालख्यालको हैन, साँच्चिकै अधिनायकवाद बन्न विपक्षीले सरकारलाई अझै दबाब दिनुपर्छ ।
 

अन्तिम अपडेट: मंसिर १९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

3 Comments

  • Thomas Thapa

    Aug. 5, 2018, 4:02 a.m.

    समय सान्दर्भिक लेख राम्रो छ

  • गजेन्द्र जप्रेल

    Aug. 4, 2018, 6:57 p.m.

    एकदम राम्रो छ । अहिलेको वास्तविक परिबेस समाबेस रहेको छ।

  • दामोदर पोख्रेल

    Aug. 4, 2018, 10:22 a.m.

    समय सान्धार्भिक तार्किक विश्लेषण ।

तपाईको प्रतिक्रिया