नारायगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

 साउन १९, २०७५ शनिबार १२:३९:२० | रासस
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । 

अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिनुभयो । 

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । त्यो क्षेत्रमा गाडीको लामो लाइन छ । एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया