टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
बाँके – बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलो पटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा आएकाे छ । बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाएको पुलको उपयोग गर्दै आएको निकुञ्जले बताएको छ ।
निकुञ्जमा जनावरले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ ।
उहाँले भन्नुभयो, ‘निकुञ्जमा प्रयोगात्मक रूपमा ६ वटा यस्ता पुल बनाइएको छ । बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसोलगायतका जनावरले प्रयोग गरिरहेका छन् । यसले गर्दा सवारी दुर्घटना र जीवजन्तु सवारीमा परेर मर्ने क्रम रोकिएको छ ।’
यस निकुञ्जमा राजमार्गको दूरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ । निकुञ्ज आसपासमा क्यामरासहित पाँच स्थानमा ६ वटा पुल राखिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा दुई सय ६४ जनावरको मृत्यु भएको छ । गएकाे वर्ष दुर्घटनाको जोखिममा परेका चार सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ । खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका वस्तु र यात्रुले जथाभाबी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकृत न्यौपानेले बताउनुभयो ।
पुल निर्माणपछि यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै उहाँले भन्नुभयो, ‘यस वर्षमा पाँच वटा स्याल, तीन वटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीन/तीन वटा सरीसृप र हरिणलगायतका जङ्गली जनावर दुर्घटनामा मारिएका थिए ।
निकुञ्जले यसलाई परीक्षणको रुपमा लिएको बताउँदै उहाँले भन्नुभयाे, ‘६ महिनासम्म यसको अनुगमन गरिनेछ र त्यसको आधारमा थप पुल निर्माण गर्न सकिनेछ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।