'के सत्तापक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष भएर काम गरौं'

 साउन २२, २०७५ मंगलबार ६:११:५७ | रासस
unn.prixa.net

काठमाडौं - ससदीय समितिले भ्रष्टाचार नियन्त्रण र सुशासन गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षको भाव नराखी काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था र सुशासन समितिको पहिलो बैठकमा नेकपा सांसद पम्फा भुसालले भन्नुभयो, 'के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष भएर काम गरौँ ।' 

समितिमा सत्ता पक्ष र विपक्ष नभनौँ संविधान कार्यान्वयन गर्ने सम्बन्धमा धेरै कानून निर्माण गर्नुपर्नेछ, अब फटाफट काम अघि बढाऔँ–नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले थप्नुभयो । 

नेकपाका सांसद वृजेशकुमार गुप्ताले मौलिक हकको कार्यान्वयन, नागरिकता, भ्रष्टाचार नियन्त्रणदेखि सुशासनसम्ममा नागरिकले उठाएका धेरै विषय कार्यान्वयन गर्नुपर्ने हुँदा सहज रुपमा समितिका बैठकहरु सञ्चालन भएमा संसद् र सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले संघीयता कार्यान्वयनका लागि प्रदेशलाई बलियो बनाउनुपर्छ, त्यसका लागि समितिले सहजीकरणको भूमिका खेलेर अघि बढनुपर्छ भन्नुभयो । 

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा रक्षा, गृह र संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय मुख्य कार्यक्षेत्र रहेको राज्य व्यवस्था समितिका सबै सदस्य समयमै उपस्थित हुन्छन् र बैठक चल्छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'यहाँ हामी साझा ढंगबाट जसरी बसेका छौँ, त्यसरी नै सहमति कायम गरौं, समितिको बैठकमा सबै सदस्य समयमै उपस्थित हौँ, राम्रो परम्पराको थालनी गरौँ, कसैको चित्त दुख्ने काम नगरौँ ।” 

नेकपाका सांसद झपट रावलले समितिमा प्रतिपक्ष र पक्ष भन्ने होइन, एउटै पक्ष भएर जनताको हितमा काम गरेर देखाउन सक्नुपर्नेमा जोड दिनुुभयो । समितिका अर्का सदस्य छक्कबहादुर लामाले सिँचाइ र खानेपानीका आयोजना देखाएर बजेट खाने प्रवृत्ति अन्त्य गर्न समितिको भूमिका प्रभावकारी हुनुपर्दछ भन्नुभयो । 

संघीय समाजवादी फोरम नेपालका सांसद रामसहायप्रसाद यादवले राज्यबाट जनतालाई उपलब्ध गराइएको सेवाबारे उठेका प्रश्न तथा संविधानमा व्यवस्था भएको तर कार्यान्वयन नभएको संरक्षित, स्वायत्त र विशेष क्षेत्रको संरचना गठनको विषयलाई तत्कालै सम्बोधन गर्नुपर्छ भन्नुभयो । 

“अहिले नाम मात्रको प्रदेश छ, सबै अधिकार केन्द्रमा नै केन्द्रित छ, हामीले खोजेको संघीयता यस्तो होइन”, उहाँले भन्नुभयो । 

नेकपाका सांसद नवराज सिलवालले मुलुकमा भ्रष्टाचार व्यवसाय भएको, सुशासन प्रदान गर्ने सम्बन्धमा स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको भूमिका प्रभावकारी बन्न नसकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सुरक्षा निकायले सही रुपले काम गर्न सकेन भने विकास निर्माणका कार्य प्रभावित हुन सक्छ भन्ने पक्षलाई मनन गर्न आवश्यक छ ।” 

राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले भन्नुभयो, “समितिको कार्यक्षेत्र व्यापक छ, संविधान अधुरो भएकाले संशोधनको आवश्यकता छ, संविधानमा उल्लेख भएका कतिपय प्रावधान कार्यन्वयन हुन सकेका छैनन् गम्भीरताका साथ मिलेर अघि बढौँ ।” 

नेकपाका सांसद महेश्वरजंग गहतराजले सत्तापक्ष र प्रतिपक्ष होइन, समितिका काम कारवाहीलाई एक रुपताका साथ अघि लैजाने प्रयत्न गर्न तथा समितिका सदस्यहरुलाई सम्पत्ति विवरण सार्वजनिक गर्न र कलंकित हुने कुनै काम नगर्न सुझाव दिनुभयो । नेकपाकै सांसद विजय सुब्बाले मुलुकमा सुशासन दिने प्रण गर्ने हो भने समितिका सदस्यहरु पैतृक सम्पत्तिमा मात्रै सीमित छौँ भन्ने पुष्टि गर्न हामी आफ्नो सम्पत्ति छानबिन गर्न तयार हुनुपर्दछ भन्नुभयो । 

बैठकमा सदस्यहरु राजकिशोर यादव, जनार्दन शर्मा, डिला शर्मा, दिलेन्द्रप्रसाद बडू र रेखा शर्माले संविधान कार्यान्वयन गर्न धेरै कानून बनाउनुपर्ने भएकाले सरकारलाई छिटो विधेयक तयार गरेर पठाउन र समितिको कामलाई फटाफटरुपमा अघि बढाउने वातावरण बनाउने भूमिका निर्वाह गर्न सबै सदस्यहरुसँग आग्रह गर्नुभयो । 

पच्चीस सदस्यीय समितिको आजको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सांसद यशोदा सुवेदी, नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेल र विनोदकुमार चौधरीबाहेक सबै सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच समितिको पहिलो बैठकले संविधानअनुसार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्न अविलम्ब विधेयक सदनमा ल्याउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य मीना पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले वर्षायामको समयमा बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यून गर्नका लागि विपद् व्यवस्थापनका सबै किसिमका तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया