१८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

 जेठ १५, २०७५ मंगलबार १५:४८:५२ | सन्जिता देवकोटा
unn.prixa.net

साउदीबाट १८ वर्षपछि फर्किएर माइतीगाउँ पुग्दा नवलपरासीकी सरस्वती खड्कालाई माइतीघर ठम्याउन हम्मे पर्‍यो । १८ वर्षअघि छाडेको गाउँ चिन्नै नसक्ने गरि फेरिएको थियो । भाईबुहारीको अनुहारमा चाउरी पर्न थालेका थिए । जम्काभेट हुँदा भाईलाई सरस्वतीले चिन्नुभएन र उहाँका भाईले दिदीलाई चिनेनन् । 

सरस्वतीले गाउँ छाड्दा सड्क थिएन । घर माटोले बनेका थिए । बस्ती पातलो थियो । तर फर्किदा सडक कालोपत्रे थियो र घर पनि पक्की र ठूलाठूला । आँगन कात्रोपत्रे सडकमा परिणत भएको थियो ।

उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो ।

कमाउने जोस जाँगरका साथ ४० टेक्न लाग्दा विदेश हिँडेकी सरस्वती ६० लाग्नै लाग्दा फर्किनुभयो । गाला चाउरी परेको, कपाल पनि सेतै फुलेको, ज्यान पनि पहिले भन्दा मोटो । त्यसैले जेठो भाइ र सरस्वतीबीच जम्काभेट हुँदा एकअर्कालाई चिनेनन् । 

साउदी पुगेको ४ वर्षपछि हराएकी सरस्वतीको १८ वर्ष लाग्दा पनि कुनै खबर नआएपछि माइती र घरमा सबैले माया मारिसकेका थिए । 

२०७४ असारमा त्रिभुवन विमानस्थल ओर्लदा खुसीको सिमा थिएन । बिहान ८ बजे विमानस्थल ओर्लेकी सरस्वती बसपार्कबाट बुटवल जाने गाडी चढ्नुभयो । बुटवलमा झरेर सोध्दै सोध्दै माइतीघर पुग्दा संयोग पनि उस्तै पर्‍यो ।

सरस्वती बुटवलको योगीकुटी  अर्थात माइतीगाउँसम्म त पुग्नुभयो, तर भाइको घर ठम्याउन सक्नुभएन । ‘एउटा पसलमा सोधेको, भाईकै पसल परेछ । तर न भाइले मलाई चिन्यो न त मैले भाइलाई  चिने,’ सरस्वतीले हाँस्दै सुनाउनुभयो । 

भाइको घर सोध्न भाइकै पसलमा पुगेकी दिदीलाई देख्दा सरस्वतीका जेठा भाई अक्कन बक्क भए । १८ वर्षदेखि हराएकी दिदी आफैंलाई खोज्दै दैलोमा उभिँदा भाइलार्इ आफ्नै दिदी हुन् भनेर पत्यार लागेन ।

बल्ल बल्ल चिने पनि दिदीलाई आफ्नो बारेमा के भन्ने के भन्ने शब्द फुरेन ।‘हराएकी दिदी आँखै अगाडि !’  सरस्वतीलाई देखेपछि हराएकी दिदी फर्कने आश मारेर बसेका भाइबुहारी र आफन्त सबैजना छक्क परे ।

वरपरका सबैजना जम्मा भए । भाइले सरस्वती फर्किएको खबर उहाँका छोराबुहारी र अरु आफन्तलाई पनि गरे । ‘हामी त खाना खाएर सुत्न लागेका थियौं । आमा आउनुभयो भनेर मामाले फोन गर्नुभयो । पत्याएनौ सुरुमा त । साच्चै पो रहेछ,’ सरस्वतीकी जेठी बुहारी सुस्माले भन्नुभयो । आमा फर्केको खबरले सबैको मन आश्चर्य मिस्रित खुसीले भरियो ।

खबर सुनेपछि सरस्वतीका दुई छोराको परिवार नै गाडी रिर्जभ गरेर बुटवल पुगे । मावली घरसम्म पुग्दा फर्किएकी महिला आमा नै हुन कि हैनन् भन्ने दोधार थियो । मामा घरको आँगनमा टेक्ने बित्तिकै आमा नै देखेपछि सरस्वतीका दुवै छोरा अंगालो हालेर रोए ।

माइतीघर एकछिन सुन्य भयो । नरुने कोही भएनन् तर यो रुवाई खुसीको थियो । वर्षौंपछि आफ्ना सन्तानलाई देख्दा सरस्वतीले पनि मायाका शब्द नभेटेर आखाको पानीले माया पोख्नुभयो । ‘यति खुसी लाग्यो कि, खुसीले के गरौं के भएको थियो,’ सरस्वतीले भन्नुभयो ।

विदेश जाने बेलाको २० वर्षे जवान सरस्वतीका छोरा अहिले ४० टेक्न लागेका छन् । कपाल फुल्न थालेका । तर छोराको छेवैमा उभिएर टुलुटुलु हेरिरहेको अर्को बालक पो सरस्वतीलाई आफ्नै विदेश जाँदा छोडेको छोरो जस्तै लाग्यो ।

तर छोराले चिनाइहाले, ‘आमा यो तपाईंको नाती । १५ वर्ष पुगेर १६ मा लाग्यो,’ १८ वर्षअघि छोड्दा छोरा, अहिलेका नातीजस्तै थिए । सरस्वती हेरेको हेरै हुनुभयो । आफ्ना पुस्ता देख्दा उहाँका आँखा रसाए ।

त्यसपछि सरस्वतीको परिवार नवलपरासी फर्कियो । त्यो दिन घरमा कोही निदाएनन् । रातभरी सरस्वतीले विदेशमा भोगेका दुःख सुनाउनुभयो । सरस्वती नेपाली भन्दा धेरै अरबी नै बोल्नुहुन्थ्यो । उहाँले बोलेको भाषा त बुझिँदैनथ्यो, तर सुन्दा सुन्दै रात बितेको कसैले पत्तो पाएन । वर्षौं वर्षका सरस्वतीका पीडा एक रातमा सकिने पनि थिएनन् ।

छोरालाई घर बनाइदिन साउदी

२०५६ सालमा सरस्वती साउदी जानुभएको हो । त्यो बेला सरस्वतीको गाउँमा महिला विदेशिने चलन थिएन । तर समस्यामा परेकी सरस्वतीलाई गाउँका दलालले भारतको बाटो हुँदै विदेश पठाउने भए । 

छोरा बुहारीले उहाँलाई विदेश नजानु भनेका थिए । उहाँलाई लाग्यो छोराहरुका लागि केही गरिदिउँ । श्रीमान्ले दोस्रो बिहे गरेपछि बिरक्तिएकी सरस्वतीलाई छोराहरुका लागि घर बनाइदिने सपनाले साउदी डोर्‍याएको थियो । कसैका कुरा नसुनी दलालले भनेअनुसार नै उहाँ साउदी पुग्नुभयो । 

घरबाट भारतको बाटो हुँदै हिँडेको २७ दिनपछि साउदी पुग्नुभयो । पुगेको खबर घरमा गर्नुभयो । साउदीमा घरको काम पाउनुभएको थियो । साहुका तीन छोरी र दुई छोरा थिए ।

उहाँको काम तिनीहरुकै हेरचाह गर्ने ! वर्षदिनमा सरस्वतीले घरमा चिठ्ठी पनि पठाउनुभयो । छोराले पनि आमाले लेखेको ठेगानामा चिठ्ठी पठाए, तर उहाँले पाउनुभएन । साउदीको पुगेको चार वर्षपछि उहाँले फेरि छोरालाई चिठ्ठी लेख्नुभयो । 

सरस्वतीले पठाएको चिठ्ठी घरमा आउँथ्यो । तर १८ वर्षसम्म उहाका हातमा परिवारले पठाएको चिठ्ठी एक चोटी पनि पुगेन । साउदी पुगेको चार वर्षपछि सरस्वतीले लेखेको चिठ्ठी नै अन्तिम बन्यो परिवारका लागि ।

‘म आउँछु मलाई लिन काठमाडौं आउनु भन्नुभएको थियो तर त्यसपछि आमाले कुनै खबर गर्नुभएन,’ बुहारी सरस्वती सुनाउनुहुन्छ । त्यो चिठ्ठी पछि, न साउदीबाट घरमा चिठ्ठी लेख्न पाउनुभयो । न त घरबाट छोराहरुले लेखेको चिठ्ठी नै पाउनुभयो । 

राजाको फोटो फोहोर फाल्ने भाडोमा भेटेपछि...

सरस्वती बेपत्ता भएपछि घरमा छोराबुहारीलाई चिन्ता पर्‍यो । ‘लिन आउनु भनेको मान्छेको खबर आउन छाडेपछि के गर्नु, खोज्न साउदी जान पनि नमिल्ने, भाकल गर्‍याैँ, मठमन्दिर धायौं,’ सरस्वतीकी जेठी बुहारी सुष्माले छेवैमा बसेकी सासुतिर फर्कंदै भन्नुभयो ‘चिठ्ठी त कति पठायौं कति, तर आमाले पाउनु भएनछ ।’ बुहारीले चिठ्ठीका कुरा गरेपछि सरस्वती रुनुभयो ।

छोराबुहारीले चिठ्ठी पठाए होलान भन्ने त सरस्वतीलाई पनि लागिरहन्थ्यो । साउदीमा उहाँ फोहोर फाल्न घरका फोहोर मिलाउँदै हुनुहुन्थ्यो । भाँडोमा राजाको फोटो देख्नुभयो । राजाको फोटो च्यातिएको थियो । उहाँले च्यातिएका फोटो जोड्नुभयो । जोड्दा त नेपालबाट चिठ्ठी पठाएको पक्का भयो ।

किनकी त्यो फोटो चिठ्ठीमा टाँस्ने हुलाक टिकट थियो । उहाँले कसैलाई भन्नुभएन । केही महिनापछि फेरि पनि त्यसरी नै फोहोर फाल्ने भाँडोमा राजाको फोटो भेट्टाएपछि भने उहाँले साहुनीसँग सोध्नुयभो । 

‘मेरो छोराले च्यातिदियो भनिन् साहुनीले । मैले च्यातिएका राजाको फोटो सबै जोडें । राजाको फोटो हेरेर कति रोए कति !’ फोहोरको भाँडोमा भेटिएका राजाको फोटो सरस्वतीसँग अहिले पनि सुरक्षित छन ।

राजाको फोटो समेत साथैमा बोकेर फर्किएकी सरस्वतीसम्म छोराको माया र सम्झना घरसम्म पुगे पनि साहुसाहुनीले हातमा पर्न दिएनन् । बन्दी बनाएर राखेका कामदारलाई सायद परिवारको याद दिलाउन चाहेनन् साहुसाहुनीले ।

१२ वर्ष बन्दी बनाएर राखें

साउदी पुगेको ६ वर्ष लागेपछि साहुले बन्दी बनाएर राखे सरस्वतीलाई । उहाँ बाहिर निस्कन पाउनुभएन । भिसा सकिएको थियो । सरस्वती घर फर्काई दिन दिनहुँ अनुरोध गर्नुहुन्थ्यो । साहुले हुन्छ भन्न छाडेनन् । तर पठाउने छाँटकाँट पनि देखाएनन् । ‘कुन महिना, कुन वर्ष, केही थाहा नहुने ! बाहिर निस्कन दिन पनि छोड्यो !’ तर पनि सरस्वतीले घर फर्कने आश बचाएरै राख्नुु भयो । 

छोराको यादले साह्रै सताउँथ्यो सरस्वतीलाई । ‘सपनामा पनि आमा, छोराबुहारी र दिदी बहिनीलाई मात्र देख्ने । नराम्रो सपना देख्दा त आमा बित्नुभयो कि जस्तो लाग्थ्यो,’ सरस्वती बोल्दाबोल्दै रुनुभयो ।  सरस्वती बेलाबेलामा त आमा र बहिनी बितेको सपना पनि देख्नुहुन्थ्यो । यस्ता सपना देख्दा रातभरी निदाउन सक्नुहुन्नथ्यो । 
बिहान उठेर साहुनीलाई घर जान्छु भन्नुहुन्थ्यो । तर उहाँका कुरा सुन्ने कोही थिएन । दिन गन्न सरस्वती चर्पीको भित्तामा लुकिलुकी धर्सा तान्नुहुन्थ्यो । धर्सा तान्दा तान्दा धर्सो तान्ने कलमको मसी सकियो । तर सरस्वतीको घर फर्किने दिन आएन । 

सरस्वती त्यो घरमा काम गर्न थालेको ११ वर्ष लागेपछि अर्को कामदार पनि राखे साहुले । संयोगले ती कामदार पनि नेपाली नै परिन् । अर्को काम गर्ने मानिस आएपछि उहाँलाई काममा मात्रै हलुका भएन, नेपाली नै भएकाले दुःख सुख साट्दा मन पनि हलुको हुन थाल्यो ।

दिनभरी नबोली काम गर्थे दुवै जना । नेपाली बोल्न अनुमति थिएन । उहाँहरु अरबी भाषामा नै आफ्ना दुःख सुख साट्नुहुन्थ्यो । सँगै रुनुहुन्थ्यो । ‘दुवैजनालाई बाहिर निस्कन दिँदैनथे । बाहिर चाबी लगाएको हुन्थ्यो । घर भित्र मात्रै १२ वर्ष बिते,’ सरस्वतीलाई त्योसाहुको बन्द घर फेरि सम्झन मन छैन ।

घर फर्कने आशै मारें

सरस्वतीले काम गर्ने घरका साहु डाक्टर थिए । साहुनी भने स्कुल पढाउँथिन् । त्यतिधेरै पढेका मान्छेले आफमाथि गरेको व्यवहार देख्दा सरस्वतीलाई विदेशका मानिसका मनमा माया हुन्न कि झैं लाग्थ्यो । 

सरस्वती पुग्दा साहुका छोराछोरी सानै थिए । साहुका ५ जना छोराछोरी उहाँकै काखमा हुर्किए । साहुका छोराछोरीलाई काखमा राख्दा उहाँ आफ्ना दुई छोरा झलझली सम्झनुहुन्थ्यो । पैसाका लागि अरुको आमा बनेकी सरस्वतीलाई आफ्नै छोराछोरीलाई चाहिँ टुहुरो जस्तै बनाएँ भनेर पछुतो लाग्थ्यो ।

छोराका लागि घर बनाइदिने सपना पालेर साउदी पुगेकी सरस्वतीले तलब पनि पाउनुभएको थिएन् । काम लगाउने, खान दिने तर पैसा दिएर घर पठाउने कुरै नसुन्ने ! सरस्वतीको एक मनले त घर फर्कन्छु भन्ने आश पनि मारिसकेको थियो ।

४० टेक्नै लाग्दा साउदी पुगेकी सरस्वतीको उमेर ढल्किसकेको थियो । विस्तारै उहाँ रोगी हुनुभयो । सुगर र प्रेसरले उहाँलाई बेस्सरी गाँज्यो । उहाँले यी १८ वर्षमा १८ हजारपटक भन्दा धेरै साहु साहुनीका गाली सहनु पर्‍यो ।

कति चोटी त आत्महत्या गर्न पनि खोज्नुभयो । ‘साहुले मेरो नाक राख्दे तँलाई पठाउँछु रमदान पछि भन्ने । तर त्यस्ता रमदान त कति गए कति,’ सबैले उहाँलाई भाग्न सुझाव दिन्थे, तर उहाँ भाग्नुभएन । भन्नुहुन्छ, ‘भागेर पनि कहाँ जानु पुलिसले समात्छ । साहुकोमा पु¥याइहाल्छ । मैले त साहुलाई मर्छु तर भाग्दिन भनेर बचन दिएकी थिएँ ।’

आगो लगाएर मर्न लागेपछि मात्रै पासपोर्ट बनाइदिए

नभाग्ने बचन निभाउँदा निभाउँदै सरस्वतीका १८ वर्ष बन्दी बनेर बिते । उमेरले ६० टेक्न लाग्यो । सरस्वतीले अब बाँच्दिन भन्ने सोच्नुभयो । ‘१८ वर्ष लागेपछि हाम्रो त काजकिरिया गर्छन् । पठाउने भए पठाउ नत्र म आगो लगाएर मर्छु भनेर लुगा ठीक पारे । अनि पो पासपोर्ट बनाउन हिँड् भने,’ साउदीस्थित नेपाली दूतावास लगेर साहुले पासपोर्ट बनाइदिए ।

 घर पठाउने पक्का भएपछि सरस्वतीले घर फर्कनका लागि सामान किन्नुभयो । विदेश पुगेको ३ वर्षदेखिनै घर फर्कनका लागि सरसामान जुटाएर राख्नुभएको थियो ।

‘सबैलाई लुगा किनें, चकलेट मिठाइहरु पनि किनें, नातिनातिना पनि ठूला भए होलान जस्तो लाग्यो ।

उनीहरुका लागि पनि ठूलालाई नै ठिक हुने खालका लुगा किनें,’ घर फर्कने खुसीका कुरा साट्न थालेपछि सरस्वतीको अनुहार उज्यालो भयो । घर फर्कने खुसी भए पनि सरस्वतीलाई १८ वर्षको तलब चाहिँ देलान कि नदेलान भन्ने चिन्ता थियो ।

सरस्वतीको हिसाबमा ३ लाख साउदी रियाल अथवा झण्डै ८१ लाख ७४ हजार रुपैयाँ भएको थियो । तर सबै पैसा दिएनन् । बाटोमा चोर लाग्छ । घर पुगेपछि पठाइदिन्छु भने साहु साहुनीले ।

हिँड्ने बेला जम्मा २५ हजार रियाल मात्रै दिए,’ सरस्वतीलाई घर फर्कन पाउदाको खुसी त थियो जुन सपनाले परदेशिनुभएको थियो त्यो पूरा गर्न सकिँन भनेर मन खिन्न भयो ।

सरस्वती घर फर्किएपछि साहुले ९ हजार अमेरिकी डलर अथवा ९ लाख २३ हजार रुपैयाँ पठाइदिए । ८१ लाख ७४ हजार रुपैयाँ तलब पाउनु पर्ने भएपनि जम्मा जम्मी १५ लाख रुपैयाँ मात्रै पाउनुभयो । 

१८ वर्षको पसिनाको मूल्य नपाए पनि घर फर्किन पाएकोमा सरस्वतीलाई चिन्ता छैन । छोराबुहारी नानिनातीना सबैजनाको साथ पाउँदा उहाँ दंग हुनुुहन्छ । उहाँलाई नयाँ जीवन पाए झैं भएको छ । हिजोआज उहाँका दिन नातिनातिनासँग खेलेरै बित्छन् । भन्नुहुन्छ, ‘अब यिनैको काखमा मर्न पाउँ ।’

 

अन्तिम अपडेट: मंसिर २९, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया