'ऋतम्भरा' महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

 भदौ २, २०७७ मंगलबार २१:५५:४८ | रासस
unn.prixa.net

'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।'

नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधुनिक कविता, विशेषतः छन्द कविता र गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको आज साँझ लैनचौरकाे निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । उहाँ आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै हुनुहुन्थ्यो । उहाँको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम सुरु भएको छ ।

कोरोना महामारीको जोखिम भएकाले भिडभाड गर्ने स्थिति छैन । उहाँको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उहाँ उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अवस्थ्य हुनुभएको थियो भने आफ्नो जीवनको अर्को अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्यलाई प्रकाशनको तयारीमा रहनुभएको थियो । छोरी अधिकारीका अनुसार महाकाव्यलाई उहाँले लगभग पूरा गर्नुभएको थियो तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटक–पटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन ।

छोरी अधिकारीले भन्नुभयो, 'सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।'

कविवर घिमिरेका पछिल्ला समयमा 'बुढेससम्म पनि ज्यून जानाैँ यो जीवनीको रस प्यून जानौँ' जस्ता भावका काव्य रस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताउनुभयो ।

घिमिरे सय वर्ष पुगेको वर्ष मर्स्याङ्दी वाङ्‍मय प्रतिष्ठानले त्याे वर्षभरि जन्म शताब्दी मनाइ उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीति नाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया