'सोल्टी' र 'मितिनी'लाई चीन पठाउने तयारी

 साउन २४, २०७५ बिहीबार ६:४:५९ | रासस

चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन २९ गते चितवनबाट काठमाडौं पठाइने भएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले ती गैंडा साउन ३१ गते काठमाडौँबाट चीन लैजाने छन् । चिनियाँ पक्षले गैंडा बोक्नका लागि ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिसकेका छन् । निकुञ्ज विभागले सम्पूर्ण प्रबन्ध गरी दुई दिनअघि साउन २९ गते गैंडा पठाउन पत्राचार गरेको ढकालले बताउनुभयो । 

मौसममा खराबी देखिएकाले बाटोमा समस्या हुने भन्दै दुई दिन अगाडि नै यहाँबाट गैंडा पठाउन लागिएको हो । यसअघि पनि पहिलो जोडी गैंडालाई दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो । 

यसअघि असार २८ गते एक जोडी गैंडा चीन पठाइएको थियो । दोस्रो जोडी गैंडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम ‘सोल्टी’ र डेढदेखि दुई वर्षको पोथीको नाम ‘मितिनी’ राखिएको छ । 

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैंडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैंडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् । 

यसअघि झैँ पछिल्लो जोडी गैंडा पठाउँदा पनि निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाइनेछ । ढकालले थप एक जना निकुञ्जका कर्मचारी पनि पठाउन आग्रह गरिएको बताउनुभयो । 

पहिलो जोडी गैंडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् भने सहयोगी अझै फर्किएका छैनन् । ती गैंडालाई चीनको गोन्जाओको चिमिलोङ पार्कमा राखिएको छ । ती गैंडालाई छुट्टाछुट्टै खोरमा लगिएको भए पनि एक साता अघिदेखि एकै ठाउँमा राखिएको ढकालले बताउनुभयो । 

दोस्रो जोडी गैंडालाई संघाइको जुलोजिकल पार्कमा राखिने छ । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने वचन दिनुभएको थियो । सोहीअनुरुप अहिले गैंडा पठाइएको हो । चीनमा दुई जोडी गैंडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देश पठाएका गैंडाको संख्या ३० पुग्छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया