जिल्ला अस्पतालमै छैन ग्यास्ट्रिककाे औषधि, एक्सरे गर्न अर्को जिल्ला रेफर

 भदौ २९, २०७७ सोमबार २०:४:४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको रूकुमकोटमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । प्रदेश नं. ५ सरकारको मातहत रहेको यस अस्पतालमा उपचारको लागि आउने बिरामीहरु औषधि नपाउँदा रित्तै फर्किने गरेका छन् । 

अस्पतालमा ग्यास्ट्रिककाे समेत औषधि नभएपछि टाढाबाट जिल्ला अस्पताल आउनुको अर्थ नै नभएको बिरामीहरुको गुनासो रहेको छ । अस्पतालमा बढी जसो चाहिने ग्यास्ट्रिक, झाडापखाला, रक्तचापको  लगायतका बिरामीलाई दिइने औषधि छैन । ‘भिटामिन बी कम्प्लेक्स, दुखाइ कम गर्ने औषधि, घाउ चोटमा प्रयोग गरिने मलमसमेत छैन’, एक स्वास्थ्यकर्मीले भने, ‘अस्पतालमा औषधिको अभाव भएको महिना बितिसक्यो, कसैको ध्यान छैन ।’ 

नियमअनुसार जिल्ला अस्पतालमा बिरामीले ७० प्रकारका औषधि निःशुल्क पाउनुपर्ने हो । तर यस जिल्ला अस्पतालमा अहिले झण्डै २० प्रकारका औषधि मात्र उपलब्ध छ । बाँकी ५० प्रकारका औषधि अस्पतालमा पाइँदैन । अत्यावश्यक सामग्रीभित्र पर्ने ग्लोब्सको समेत अस्पतालमा अभाव रहेको छ । कोरोना भाइरसको त्रासका बीच आएका बिरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा जाने स्वास्थ्यकर्मी नै सुरक्षा सामग्रीको अभाव रहेको गुनासो गर्छन् ।  

जिल्ला अस्पताल रुकुम पूर्वका डाक्टर पूर्णबहादुर पुनले गएको आर्थिक वर्ष २०७६/०७७ मा खरिद गरिएका धेरै जसो औषधि सकिएको बताउनुभयो । अस्पतालमा बिरामीले पाउने ७० प्रकारका औषधि प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने उहाँले जनाउनुभयो । ‘अस्पतालले खरिद गर्न मिल्ने गरी बजेट आएको छैन’, डाक्टर पुनले भन्नुभयो, ‘अस्पतालमा औषधि नभएको बारे सम्बन्धित निकायलाई खबर गर्दा पनि प्राप्त हुन सकिरहेको छैन ।’ एक महिनाभित्रमा औषधि आपूर्ति हुन नसके औषधि भण्डार कक्ष रित्तिने उहाँले बताउनुभयो । अस्पतालमा भएका सिटामोल र जीवनजल पनि सकिने अवस्थामा छन् । 

एक्सरे गर्न अर्को जिल्ला रेफर  

अस्पतालमा झण्डै तीन महिनादेखि सादा एक्सरे सेवा बन्द रहेको छ । एक्सरे मेसिन बिग्रिएपछि एक्सरे सेवा बन्द भएको अस्पतालले जनाएको छ । अस्पतालबाट सहुलियत रुपमा पाउँदै आएको एक्सरे सेवा बन्द भएपछि अस्पतालमा पुग्ने बिरामीहरु मर्कामा परेका छन् । एक्सरे गर्नुपर्ने खालका बिरामीलाई जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा रेफर गर्नुपर्ने बाध्यता रहेको डाक्टर पूर्णबहादुर पुनले बताउनुभयो ।  

सादा एक्सरे मेसिन गएको असार १० गते बिग्रिएको डाक्टर पुनले बताउनुभयो । जेनेरेटरबाट एक्सरे मेसिन चलिरहेको बेला भोल्टेज बढी हुन गइ एक्सरे मेसिन जलेको अस्पतालले जनाएको छ । अस्पतालमा केन्द्रीय प्रसारण लाइन जोडिएको छैन भने स्थानीय विद्युत् आयोजनाको पावरले धान्दैन ।

अस्पताल व्यवस्थापनका लागि बनाइने व्यवस्थापन समिति समेत गठन हुन नसक्दा अस्पतालको उचित व्यवस्थापन हुन नसकेको बताइएको छ । प्रदेश सरकारले गठन गरेर पठाउनुपर्ने अस्पताल व्यवस्थापन समितिको जिम्मेवारी राजनीतिक स्वार्थका अहिलेसम्म कसैले पाउन नसकेको स्थानीयको गुनासो छ । 

सामान्य खालका औषधिहरु समेत नभएपछि बिरामीहरु निजी अस्पताल तथा मेडिकलमा जान बाध्य छन् ।    

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया