उज्यालो समाचार प्रभाव : जिल्ला अस्पतालमा छड्के अनुगमन, आकस्मिक बैठक आह्वान

 असोज २, २०७७ शुक्रबार २०:३२:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – महिना दिनदेखि अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्कामा परेपछि जिल्ला अस्पताल रुकुम पूर्वको छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले अस्पतालको अनुगमन गर्नुका साथै समस्या समाधानका लागि आकस्मिक बैठक आह्वान गरेर महत्त्वपूर्ण निर्णय गरेको छ । 

गएको सोमबार 'जिल्ला अस्पतालमै छैन ग्यास्ट्रिकको औषधि, एक्सरे गर्न अर्को जिल्ला रेफर' शीर्षकमा उज्यालो अनलाइन र रेडियोमा समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अस्पतालको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले बताउनुभयो ।

बिहीबार गरिएको अनुगमनको क्रममा अस्पतालमा समस्यै समस्या देखिएपछि शुक्रबार बिहान पालिका र सरोकारवाला निकायको उपस्थितिमा आकस्मिक बैठक गरिएको सूचना अधिकारी समेत रहनुभएकी सहायक प्रजिअ पोखरेलले जनाउनुभयो । 

बैठकले अस्पतालमा देखिएको जनशक्ति अभावलाई तत्काल पूर्ति गर्न दरबन्दीअनुसारको कर्मचारी करारमै नियुक्ति गर्ने निर्णय गरेको छ । अस्पतालमा फार्मेसी सेवा नभएकोले त्यसको व्यवस्थाको लागि प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा सहमति माग्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले उज्यालोलाई बताउनुभयो । 

अस्तपालमा अनुगमनको क्रममा ४० प्रकारका निःशुल्क पाइने औषधि नभएको पाइएकोले तत्काल औषधि आपूर्तिका लागि पत्राचार गर्ने, कोरोनाको सङ्क्रमण बढिरेहकोले आवश्यक मात्रामा स्वास्थ्य सामग्री र औषधि खरिद गर्ने निर्णय गरेको प्रजिअ राईले बताउनुभयो ।

‘अस्पतालमा गाडी छ तर चालक छैन’, प्रजिअ राईले भन्नुभयो, ‘अस्पताल व्यवस्थापन समिति नबन्दा यस्ता खालका समस्या आएका हुन् ।’ अस्पतालमा देखापरेका सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको प्रजिअ राईको भनाइ छ । 

अस्पतालमा बढी जसो चाहिने ग्यास्ट्रिक, झाडापखाला, रक्तचाप, भिटामिन बी कम्प्लेक्स, दुखाइ कम गर्ने औषधि, घाउ चोटमा प्रयोग गरिने मलम, स्वास्थ्यकर्मीले प्रयोग गर्ने ग्लोब्स समेतको अभाव रहेको छ । तीन महिनायता अस्पतालको सादा एक्सरे सेवासमेत बन्द छ । 

बिहीबार नै अस्पतालमा भइरहेको गतिबिधिबारे त्यहाँका कर्मचारीहरुसँग बैठक पनि  गरिएको छ ।   

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया