जुवामा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर १६ वर्षे किशाेर बेपत्ता

 कात्तिक १४, २०७७ शुक्रबार १९:३५:२२ | अमर सुनार
unn.prixa.net

दैलेख – महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गाेविन्द विक किमुगाउँमा रहेकाे वसन्त माविमा कक्षा नाै मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैँको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।

गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गाेविन्दले त्याे सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् ।

तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए ।

दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बाेधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसाे मात्र फेला परेको थियो ।

चिठ्ठीकाे भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातदिन रोइरहनुभएकाे छ । 

उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियाे ।   

जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

पढाइ केही कमजोर भए पनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छ्न् । उनी लकडाउनयता ६ महिनाभन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसँग मजदुरी गर्दैै आएका थिए ।  

यस्ताे छ पत्रकाे व्यहाेरा –

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया