विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

 कात्तिक १८, २०७७ मंगलबार १२:६:२६ | रासस

स्याङ्जा – देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।

 विदेशी भूमिमा जति पसिना बगाए पनि सिमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।

गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थाल्नुभएको छ ।  यूएई र कतारमा गरी पाँच वर्ष बिताउनुभएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताउनुभयो । 

रानाले भन्नुभयो, ‘विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ, हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।’

गएको वर्ष छ रोपनी जमिनमा अदुवाखेती गर्नुभएका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाउनुभएको छ । अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदुवाखेतीबाट  दुई लाख आम्दानी भएको बताउँदै रानाले भन्नुभयो, ‘यो वर्ष बजारभाउ राम्रो पाएमा २० लाख रुपैयाँ बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।’ तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क हुनुहुन्छ ।

गएको वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गर्नुभएका उहाँले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गर्नुभएको हो । 

गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताउनुभयो । 

नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताउनुभयो । अदुवासँगसँगै बाख्रापालनसमेत गर्नुभएका उहाँले  ३०, ४० हजार रुपैयाँ कमाउनका लागि विदेशिन नपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया