'मान्छे बाेक्ने गाडीलाई मान्छेले नै बाेक्नुपर्‍याे'

 साउन ३१, २०७५ बिहीबार ८:३८:३५ | रासस

दैलेख – जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । 

जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लाग्नुभएका उहाँले भन्नुभयो हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँ तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भन्नुभयो “हिउँदमा रु तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा रू दशहजारभन्दा बढी खर्च भइसक्यो ।” 

कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिनु भएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उहाँ मात्र होइन, कोहलपुरबाट मुगु जान लाग्नुभएका मुगुका बिर्खबहादुर शाही पनि चिउरे खोलाको जाममा फस्नुभयो । कालिकोटदेखि सुर्खेत जाँदै गर्नुभएका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा फस्नुपरेको बताउनुभयो । 

मुगु निवासी चालक शाहीले प्रदेश सरकारले वर्षात्मा पनि निर्वाधरूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसिभी र स्काभेटर राख्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “सडकका दुर्दशा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता ग¥यो, यहाँ त मान्छे बोक्ने गाडीलाई नै मान्छेले बोक्नु पर्‍यो । ” 

कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । कर्णाली राजमार्ग अन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजारलगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । बुधबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म छ घण्टासम्म भएको जाममा करिव ३०० सवारी साधनका एक हजार ५०० यात्रु अलपत्र परेका थिए ।

सडक विभागबाट खटिनुभएका कामदार हर्क खड्काले कर्णाली राजमार्गमा दुईदर्जन भन्दाबढी स्थानमा पहिरो गएको बताउनुभयो । दैलेखको आठवीस नगरपालिका–९छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने कर्णाली राजमार्ग मात्रै प्रमुख मार्ग भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि यसमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को रूपमा चिनिँदै आएको थियो । “अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुलाई सहजरूपमा आवातजावत गराउन पहल गर्नुपर्छ ।” उहाँले भन्नुभयो । 

सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने उक्त राजमार्गमा कालोपत्रे भए पनि सडकमा सधैँ पानी जम्नु तथा सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको यहाँका यात्रु बताउँछन् । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया