विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाडौं - नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी शुक्रबार कार्गो विमानबाट चीन पठाएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गर्नुभयो ।
मन्त्री बस्नेतले उहाँलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गर्नुभएको थियो । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ ।
गैँडा हस्तान्तरणपछि विमानस्थलमा कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा देशको पहिचान विश्वमा प्रख्यात हुने र नेपालको पर्यटन व्यवसायमा समेत प्रवर्द्धन हुने उहाँको भनाइ थियो ।
चीनको युनी–टप एयरलाइन्सको कार्गो विमानबाट साँझ लगिएका गैँडा पाँच घण्टा ४५ मिनेटको उडानपछि साङ्घाइ पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ ल्याइएको महानिर्देशक खड्काले बताउनुभयो ।
गैँडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य तीन जना वन्यजन्तु प्राविधिक बिहीबार नै चीन गइसक्नुभएको छ ।
दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ ।
यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ । सरकारले यसअघि विभिन्न १० देशलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।