विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
ललितपुर - ग्वार्को बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उहाँको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।
उहाँले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गर्नुभएको छ । उहाँले सधैँ जवाफ नकारात्मक नै पाउनुहुन्छ । गत साता भने उहाँ कार्यालयमा नै आफ्नो अनुमतिपत्र कहिले आउँछ भन्ने बुझ्न आउनुभएको भेटिनुभयो । उहाँले भन्नुभयो, “अझै पनि कहिले आउँछ भन्ने टुङ्गो छैन भन्ने जवाफ पाएँ ।”
यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण भएका थापाजस्ता झण्डै चार लाख जनाले अनुमतिपत्र पाएका छैनन् । नौ महिना पहिले परीक्षा पास गर्ने सेवाग्राहीसमेत चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास भएर सरकारलाई तिरेको राजश्वको कागज लिएर हिँड्छन् ।
विभागमा छाप्ने उपकरण (मेशिन) कमीका कारण धेरै सेवाग्राहीले हैरानी बेहोरेका छन् । एकातिर उनीहरुले परीक्षा उत्तीर्ण भएको लामो समय बित्दासमेत अनुमतिपत्र पाएका छैनन् भने अर्कातिर ट्राफिक प्रहरीले सडकमा रसिदका भरमा चलाउँदा अनुमतिपत्र नै माग्ने गरेका छन् ।
सातदोबाटोकी मैना अर्यालले छ महिना पहिले नयाँ स्कुटर किन्नुभयो । सामान्य चलाउन जानेपछि उहाँले प्रशिक्षण केन्द्रमा गएर ‘ट्रायल’(चालक प्रयोगात्मक परीक्षा)का लागि सिक्नुभएको थियो । उहाँले पहिलो पटकमा नै परीक्षा पास पनि गर्नुभयो । तर परीक्षा पास गरेको पाँच महिना बितिसक्दासमेत चालक अनुमतिपत्र पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “ परीक्षा उत्तीर्ण गरेर पनि ढुक्कसँग चलाउन पाएको छैन ।”
चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको रसिद बोकेर नै अर्यालले स्कुटर चलाउने गर्नुभएको थियो । एक पटक रसिद कपडा धुँदा च्यातिएर गयो । निवेदन दिएर बल्ल रसिदको प्रतिलिपि लिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “फेरि पनि च्यातिर जाने अवस्थामा पुगिसक्यो ।” उहाँले केही समय पहिले भने त्यही च्यातिन लागेको रसिद ‘लेमिनेसन’ गरेर बोक्न थाल्नुभएको छ ।
सेवाग्राहीलाई परेको समस्याका बारेमा जानकारी भएर पनि केही गर्न नसकिएको वाग्मती अञ्चल कार्यालयका सूचना अधिकारी भक्त विष्टले बताउनुभयो । यहाँबाट लिइएको परीक्षा पास गरेको लामो समय बित्दासमेत सेवाग्राहीले प्रमाणपत्र पाएका छैनन् । उहाँ भन्नुहुन्छ, “भएका उपकरण अपुग भए थपेर पनि सेवाग्राहीलाई चाँडो सेवा दिनुपर्छ ।”
आफूले राजश्व तिरेको लामो समय हुँदासमेत चालक अनुमतिपत्र नपाएको भन्दै धेरै जना सेवाग्राही कार्यालय आउने गरेका छन् । कतिपयले नम्र भाषामा त कति सेवाग्राही त झगडा गर्ने उद्देश्यले आइपुग्ने सूचना अधिकारी विष्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “समयमा दिन नसक्नु हाम्रै गल्ती हो । त्यसैले चुप लागेर बस्नुपर्ने अवस्था छ ।” पटक–पटक यहाँ आइरहेका सेवाग्राही बढी रिसाउने गरेका छन् ।
सेवाग्राहीलाई धेरै खालका समस्या परेको विष्टले बताउनुभयो । कतिपय सेवाग्राही विदेश जानका लागि चालक अनुमतिपत्र बनाएका छन् । उहाँ भन्नुहुन्छ, “प्रवेश आज्ञा आइसक्दासमेत चालक अनुमतिपत्र नआउँदा उहाँहरुलाई समस्या छ ।”
सडकमा ट्राफिक प्रहरीले समय–समयमा कागजपत्र जाँच गर्छन् । चालक अनुमतिपत्रमा जस्तो फोटो नहुँदा आफ्नै हो भनेर विश्वास दिलाउन गाह्रो पर्ने सेवाग्राहीले कार्यालयका कर्मचारीलाई बताउने गरेका छन् । अनुतिपत्रजस्तो बलियो नहुँदा रसिद च्यातिने वा भएका कुरा मेटिँदा धेरै सेवाग्राहीले त्यसको प्रतिलिपि समेत लिएका छन् । उहाँ भन्नुहुन्छ, “रसिदकै प्रतिलिपि लिनेसमेत गर्दा यहाँ सेवाग्राहीको चापसमेत बढ्छ ।”
नेपाल सरकारले तीन वर्ष पहिले वाग्मती अञ्चल कार्यालयबाटै ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण थालेको थियो । अरु अञ्चल कार्यालयमा पुरानो खालको चालक अनुमतिपत्र वितरण गर्दा पहिले ‘स्मार्ट चालक अनुमतिपत्र’ लिनकै लागि कार्यालयमा भीड थियो । अघिल्लो वर्षसम्म अरु अञ्चल कार्यालयको सेवासमेत नियमित थिएन । उहाँ भन्नुहुन्छ, “कहिले खुल्ने र कहिले बन्द हुने हुँदा धेरै सेवाग्राही यही आउने गरेका थिए ।”
अघिल्लो आर्थिक वर्षबाट सबै अञ्चल कार्यालयले ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण गरिरहेको सूचना अधिकारी बिष्टले बताउनुभयो । ती कार्यालयले नियमित सेवा दिँदा यहाँको चाप कम हुँदै गएको छ । अझैसम्म अरु १३ वटा कार्यालयमा जत्तिकै यहाँको एउटा कार्यालयमा सेवाग्राहीको चाप रहेको उहाँ बताउनुहुन्छ । वाग्मति अञ्चल कार्यालयले अहिलेसम्म दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरिसकेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।