सङ्क्रमणबाट निको भएर सङ्क्रमितको उपचारमै छु, मनोबल बढाउनुहोस् जितिन्छ

 जेठ ४, २०७८ मंगलबार १०:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

म पनि कोरोना भाइरस सङ्क्रमित भएकी थिएँ ।  कोरोना सङ्क्रमण हुँदा जीउ दुख्ने र  धेरै ज्वरो आएको थियो ।  एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ ।  मलाई केही हुँदैन भनेर मनोबल उच्च बनाएर बसेकी थिएँ । 

खानपिनमा एकदमै ध्यान दिएँ । पोसिलो र झोलिलो खानेकुराहरु प्रशस्तै मात्रामा खाएकी थिएँ । आफू स्वास्थ्यकर्मी भए पनि आफूभन्दा माथिल्ला तहका डाक्टरहरुको निगरानी र सल्लाह अनुसारको औषधिहरुको प्रयोग पनि गरेँ । हप्तादिनको आरामपछि फेरि अस्पताल जान सुरु गरेकी हुँ। 

एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ । कोरोना महामारीको भयावह अवस्था र अस्पतालहरुमा बिरामीको धेरै नै चाप भएकाले केही हदसम्म व्यवस्थापनमा सहज हुने आशाले मैले आठ दिनपछि फेरि अस्पतालमा गएर काम गर्न थालेकी हुँ । 

मलाई कोरोना सङ्क्रमण भएको बेलामा हल्का ज्वरो, जीउ दुख्ने र खोकी लाग्ने लक्षण देखिएको थियो । धेरै समस्या नभएकाले काम गर्न सक्छु भन्ने लागेकाले एक हप्ताको आराम पछि नै अस्पताल गएकी हुँ । तर अक्सिजन नै दिनुपर्ने अवस्था वा  कडा खालको लक्षण देखिएमा  अलि लामै समय आराम गर्नुपर्छ । छिट्टै काममा फर्कनु हुँदैन । 

सामान्य खालका लक्षण मात्र  देखिएमा, सामान्य जीउ दुख्ने र खोकी मात्रै लागेमा काममा फर्कन सकिन्छ । तर कडा रुपमा ज्वरो आउने, जीउ दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र निमोनिया पनि देखिएको छ भने त्यस्ता व्यक्तिहरुले तुरुन्त काममा नफर्किएर केही समय आराम गर्नु राम्रो हुन्छ । 

कोरोना सङ्क्रमण भइसके पनि सबैभन्दा पहिला आफूलाई कस्तो खालको लक्षण देखिएको छ भन्ने कुराको ख्याल गर्नुपर्छ । ज्वरो आएको छ भने दुईदेखि चार घण्टामा ज्वरो नापिराख्नुपर्छ । औषधि खानुपर्छ । बेलाबेला शरीरमा अक्सिजनको मात्रा पनि नापिरहनु पर्छ । शरीरमा अक्सिजनको मात्रा ९० भन्दा कम छ भने तुरुन्तै अस्पताल जानुपर्छ । अक्सिजनको मात्रा हुनुपर्ने भनेको ९५ देखि एक सयसम्म हो । ९५ बाट घट्ने बित्तिक्कै सावधानी अपनाउनुपर्छ। र अस्पताल जानुपर्छ ।

खानपिनमा ध्यान दिनु त पर्छ नै ।  खान मन लागेन भनेर नखाइ बस्नु हुँदैन ।  अण्डा, गेडागुडीको रस लगायत प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ र सँगै आराम पनि गर्नुपर्छ ।  जुन पायो त्यही औषधि खानु हुँदैन । स्वास्थ्य संस्थामा नै गएर डाक्टरहरुको सल्लाहमा औषधि खाने गर्नुपर्छ । 

सङ्क्रमितले अरु पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । आफू बसेको कोठाको झ्याल ढोका खुल्ला राख्ने, भेन्टिलेसन नभएको कोठामा बस्दा श्वासप्रश्वासमा समस्या आउन सक्छ । गर्मीको समय भएकाले घाँटी सुख्खा भएर चिसो खान मन लाग्ने हुन सक्छ । यस्तो अवस्थामा फ्रिजमा राखेका खानेकुरा खानु हुँदैन । फ्रिजमा राखेको खानेकुरा खाने बित्तिक्कै घाँटी बन्द भएजस्तो र श्वास फेर्न गाह्रो भएजस्तो हुन्छ । श्वासप्रश्वासमा समस्या देखिन सक्ने भएकाले सकेसम्म धुवाँ र धुलोबाट बच्नुपर्छ । 

सङ्क्रमण भइसके कतै मेरो ज्यान गइहाल्छ कि भन्ने डर लाग्न  सक्छ  । मन आत्तिन सक्छ ।  मानसिक तनाव हुन सक्छ । तर त्यस्ता विचारहरु मनमा आउन दिनु हुँदैन । अहिले धेरै ठाउँमा इन्टरनेट तथा मोबाइलको पहुँच छ । यसको प्रयाेग गरेर आफूलाई भएका समस्याबारे जानकारी लिन सकिन्छ । यसका साथै आफूलाई व्यस्त राख्ने कुरामा ध्यान दिनुपर्छ । 

घरमै आफूलाई व्यस्त राख्नका लागि विभिन्न खालका कामहरु गर्न सकिन्छ । यसले गर्दा मानसिक तनाव कम गर्न मद्दत गर्छ । आफ्नो मनोबल उच्च पार्नुका साथै परिवारको मनोबल पनि उच्च बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक खालका समाचार सुन्ने र सकारात्मक सोच्ने गर्नुपर्छ ।  यस्तै सङ्क्रमितको मनोबल बढाउनका लागि परिवारका सदस्यको पनि महत्वपूर्ण भूमिका रहन्छ ।  अलिकति गाह्रो हुने बित्तिक्कै परिवारका सदस्यहरु आत्तिएमा बिरामी झन् धेरै आत्तिन्छन् । 

नआत्तिकन बिरामीको साथ र सहयोग गर्नुमा परिवारका सदस्यको महत्त्वपूर्ण भूमिका रहन्छ । परिवारका सदस्यले बिरामीलाई माया ममता दिनुका साथै एकदमै धेरै रेखदेख गर्नुपर्छ । अस्पतालबाट डिस्चार्ज भइसकेपछि वा आइसोलेशनबाट बाहिर आइसकेपछि  पनि खेलाँची गर्नु हुँदैन । कोरोनाका बिरामीले  यो खान हुने नहुने भन्ने खासै नभए पनि  फ्रिजमा राखेका वा चिसो चिजहरु खानु हुँदैन । लामो श्वास लिने, केहीबेर रोक्ने र बिस्तारै छोड्ने जस्ता व्यायामहरु गर्नुपर्छ ।

पोसिलो खानेकुराहरु खाने गर्नुपर्छ । अब म सञ्चो भएँ भनेर जे पनि खाने गर्नु हुँदैन । धूमपान तथा मद्यपान गर्नु हुँदैन। अस्पतालबाट डिस्चार्ज भइसकेपछि वा आइसोलेशनबाट निस्किसकेपछि परिवार तथा छरछिमेकीले उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्छ । 

राम्रो सम्बन्ध राख्नका लागि कोशिस गर्नुपर्छ ।  दुई मिटरको दूरी कायम राखेर परामर्श दिने हौसला दिने काम गर्नुपर्छ । सङ्क्रमित आफैँले पनि आफ्नो मनोबल उच्च पार्ने कोशिस गर्नुपर्छ । कोरोनालाई जित्न सक्छु, मलाई केही पनि हुँदैन भन्ने सोच्नुपर्छ । सकारात्मक समाचाहरु हेर्ने र सुन्ने गर्नुपर्छ   । समुदाय वा छिमेकमा आफूजस्तै सङ्क्रमित भएमा एकअर्कोका समस्या सुन्ने र आदानप्रदान गरेर मन हल्का  पार्न सकिन्छ ।

(भेरी अस्पताल नेपालगञ्जकी नर्सिङ अधिकृत  ईश्वरी केसीसँगको कुराकानीमा आधारित)

कोरोना सङ्क्रमण भएर बिरामीको उपचारमा फर्किएकी भेरी अस्पतालकी अर्की नर्स मधु गुरुङको अनुभव समेटिएको कोरोना क्याप्सुल सुन्नुहोस् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया