यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बने डाक्टर रविन्द्रकुमार यादव

 असार २३, २०७८ बुधबार ८:२३:५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - यूएईमा कार्यरत डाक्टर रविन्द्रकुमार यादव यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बन्नुभएको छ । आठ वर्ष पहिलेबाट यूएईमा कार्यरत विराटनगरका डाक्टर यादवले यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाउनु भएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गएकाे केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो ।

सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डा. यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जबाट एमबीबीएस उत्तीर्ण गर्नुभएका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गर्नुभएको छ । काठमाण्डौको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरिसक्नु भएका उहाँले सन् २००२ मा यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गर्नुभएको थियो ।

उहाँ भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोपर्सन हुनुहुन्छ ।

यसैबीच यूएई सरकारले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको गोल्डेन भिसाका लागि यूएईमा विभिन्न पेसा व्यवसायमा संलग्न २८ जना नेपाली नागरिकले पनि गोल्डेन भिसाका लागि आवेदन दिनुभएको छ । काठमाण्डौ रहेको यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जनाएको छ ।

यूएईले आफ्नो देशमा योगदान दिएका विदेशी नागरिकलाई गोल्डेन भिसा दिएर सम्मान गरिरहेको र त्यसमा नेपाली नागरिकले समेत अवसर पाउनु गर्वको विषय भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । अहिलेसम्म डाक्टर यादव बाहेक अन्य नेपाली नागरिकले गोल्डेन भिसा पाएकोबारे औपचारिक रुपमा दूतावासलाई जानकारी नआएको राजदूत ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

यूएईमा रहेका के कति नेपालीले गोल्डेन भिसा पाए भन्ने विषयमा यहाँको माथिल्लो निकायमा सोधपुछका लागि पत्राचार गरिसकिएको राजदूत ढकालको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया