‘सुकुम्बासीको समस्या समाधान गर्न यसअघिका आयोगले गरेका कामकाे मूल्याङ्कन गरिन्छ’

 कात्तिक ९, २०७८ मंगलबार २०:२२:२१ | रासस
unn.prixa.net

चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्याङ्कन गरिने जानकारी दिनुभएको छ । 

राष्ट्रिय भूमि आयोगद्वारा आज मङ्गलवार यहाँ आयोजित प्रदेशस्तरीय समीक्षा तथा आउँदाे कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अघिल्ला आयोगले गरेको कामलाई निरन्तरता दिँदै थप काम अगाडि बढाइने बताउनुभएको हो ।

सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी परिवर्तन हुँदा समस्या हुने जनाउँदै उहाँले भन्नुभयो, ‘सरकार परिवर्तन हुँदा हुने आयोगका पदाधिकारी परिवर्तनले सुकुम्बासी समस्या समाधानमा कठिनाइ भएको छ ।’ यसलाई न्यूनीकरण गर्नका लागि सरकार परिवर्तन भए पनि आयोगले गरेका कामको मूल्याङ्कन गर्दै अघि बढ्न सकेमा मात्रै सुकुम्बासीको समस्या समाधान हुने उहाँको भनाइ थियो ।

अहिले जग्गा हुनेले खेती नगर्ने र खेती गर्नेको जग्गा नहुने हुँदा समस्या अझै जटिल बन्दै गएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘खेती गर्ने सुकुम्बासीको जग्गा छैन । धनाढ्यको जग्गा छ तर खेती गर्दैनन् ।’ सुकुम्बासीहरूको समस्या समाधान नहुँदा कतिपय नागरिकहरू अनागरिक बन्नु परेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । राज्यले अहिलेसम्म अँगालेको भूमिसम्बन्धी नीतिका कारण जटिल समस्या आएको भन्दै उहाँले अहिले बनेको भू उपभोग नीति लागू गर्न सकेमा मात्रै समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भू–उपयोग नीति बनेको छ । कार्यान्वयनमा आउन केही समय लाग्ने देखिन्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नागरिककाे दुःखलाई बुझेर भू व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । यसका लागि भू उपभोग नीति कार्यान्वयनमा ल्याउन सरकारले गृहकार्य सुरु गरेको उहाँले जानकारी दिनुभयो । आयोगलाई पूर्णता दिन सकेमा यसको काम प्रभावकारी रूपमा अघि बढ्ने उहाँको भनाइ थियो । नेपालमा अहिले १५ लाख परिवार अव्यवस्थित बसोबासमा रहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले यसको समाधानका लागि अठोट लिएर काम गर्नुपर्छ भन्नुभयो । 

आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधानका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । यस विषयमा पालिकाले गरेका कामको लगत माग गरी कामलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गाना, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायतले बोल्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया