टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
मनाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्ष रूपमा असर गर्ने कारक तत्त्वको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्ने बताउनुभएको छ ।
आज साेमवार मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारक तत्त्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने उहाँले बताउनुभयो ।
वातावरणीय सन्तुलन कायम राख्न वन–जङ्गल र वनस्पतिको महत्त्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानवको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
गएकाे असार १ गते आएको बाढी, पहिराेका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुःख लागेकाे उहाँले बताउनुभयो । मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरूको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पुर्याउनुपर्ने देखिएको उहाँको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।
विश्वका ठूला देशहरूका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरूले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताउनुभयो ।
उहाँले आजदेखि स्कटल्यान्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गर्नुभयो । यस्ता सम्मेलनमार्फत हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उहाँको धारणा थियो ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।
प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटलीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । सात सय ३५ रोपनी क्षेत्रफलमा याे फार्म सञ्चालनमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।