च्याङ्ग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

 कात्तिक २०, २०७८ शनिबार २०:२२:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

मुस्ताङ – मुस्ताङबाट यसपालिको दशैँ तिहारमा ३५ करोड रुपैयाँ बराबरको च्याङ्‍ग्रा निकासी भएको छ । सरदर प्रति गोटा ३५ हजार रुपैयाँका दरले दश हजार च्याङ्‍ग्रा बेचेका किसानले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैँमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङ्‍ग्रा निकासी भएको जानकारी दिनुभयो । 

स्वास्थ्य परीक्षण गरेर निकासी गरेका आधारमा झन्डै दश हजार च्याङ्‍ग्रा बाहिरिएका छन्, उहाँले भन्नुभयो “किसानले गोठबाटै प्रति गोटा ३५ हजार रुपैयाँका दरले च्याङ्‍ग्रा बेचेका छन् ।  
तिब्बतबाट भेडा/च्याङ्‍ग्रा नआएपछि विगतको तुलनामा झन्डै आधा सङ्ख्यामा भेडा/च्याङ्‍ग्रा निकासी भएको हो । 

अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको सङ्ख्यामा भेडा/च्याङ्‍ग्रा निकासी हुँदै आएको थियो । निकासी भएका धेरैजसाे भेडा/च्याङ्‍ग्रा मुस्ताङकै हुन् । व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताउनुभयो । 

पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रति गोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडा/च्याङ्‍ग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्‍ग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडा/च्याङ्‍ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्याङ्‍ग्राले माग नधान्ने भएपछि किसान र बीचका व्यापारीहरूले मूल्य बढाएका छन् । 

गएकाे वर्षको तुलनामा मुस्ताङमै प्रति गोटा पाँचदेखि १० हजार रुपैयाँसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन् । जोमसोम पुगेर दुई सय च्याङ्ग्रा खरिद गरेका काठमाण्डौका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रति गोटा पाँचदेखि १० हजार रुपैयाँसम्म बढी तिर्नुपरेको बताउनुभयो ।

‘अघिल्लो वर्ष प्रति गोटा २५ हजार रुपैयाँसम्ममा खरिद गर्थ्याैँ, यो वर्ष ३५ हजार रुपैयाँसम्म परेको छ, उहाँले भन्नुभयो, खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङ्ग्रा बेच्न गाह्राे भयो । मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका ठाउँमा किसानले पालेका च्याङग्रा निकासी भएको हो ।

म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडा/च्याङ्‍ग्राहरू बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडा/च्याङ्‍ग्राले विशेषगरी लेकाली जडिबुटीहरू खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडा/च्याङ्‍ग्राको माग बढी हुने गर्दछ । च्याङ्‍ग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङ्‍ग्रा पालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया