गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

 कात्तिक २४, २०७८ बुधबार ८:२५:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उहाँ निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।

१९७२ साल  कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका उहाँको २०५४ साल असोज २ गते निधन भएको थियो । काठमाण्डौको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ साल अघि नै जेल फोडेर भागेका गणेशमान सिंहले  भारतमा अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकास गर्नुभयो ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । २०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो ।

२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले वीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बन्नुभएको हो । नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कु’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

२०२५ सालमा जेलमुक्त भएपछि वीपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनियो । २०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो। 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया